धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। उनीसँगै प्याराग्लाइडिङ सन्चालक तथा व्यवसायी रामप्रसाद राईलाई समेत विपक्षी बनाइएको छ ।
दुवै विरुद्ध मोरङको सुन्दरहरैंचाका हेमचन्द्र घिमिरे र धरान १ की रोजिना अधिकारीले कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।
निवेदकद्वयले सर्वोच्च अदालतको आदेशविपरीत छोटीमोरङ डाँडामा रहेको व्यक्तिको नाममा रहेको जग्गामा जबरजस्ती वृक्षरोपण गरेको, पूर्ण इजलाशमा पेश गर्ने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा रहँदा नै अदालतलाई चेतावनीयुक्त अभिव्यक्ति दिइरहेको, विभिन्न युट्युब च्यानलमार्फत् न्यायाधीशमाथि आक्षेप लगाउदै आएकाले अदालतको अवहेलना ठहर्ने भन्दै नगर प्रमुख साम्पाङ र प्याराग्लाइडिङ व्यवसायी राईलाई उक्त मुद्दामा कारबाहीको माग गरेका छन्।
अधिकारी धरान वडा १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारीकी श्रीमती हुन्। उक्त मुद्दामा भदौ ३ गते नै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलाशले निवेदकको माग बमोजिम किन कारबाही हुनु नपर्ने हो ? कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ।