विराटनगर । कुमारी आमालाई समाजमा पुनःस्थापित हुन निकै सकस हुने गरेको छ ।
त्यस्तै उदाहरण बनेकी छन्, २६ वर्षीया फूलकुमारी गुरुङ (परिवर्तित नाम) । आफूले जन्म दिएको छोरी उनको साथबाट झण्डै दुई महिना खोसिएको थियो । दुई महिनापछि छोरी भेटिएपछि उनको ममता पोखिएको थियो । सोमबार दिउँसो २ बजे विराटनगर–११ स्थित ओरेक नेपालको सुरक्षित आवास गृहमा पुग्दा फूलकुमारीले छोरीलाई तेल लगाएर सुताएकी थिइन् । केहीबेरमा छोरी निन्द्राबाट ब्युँझिइन् र रुन थालिन् । त्यसपछि उनले छोरीलाई काखमा राखेर दूधदानीबाट दूध खुवाउन व्यस्त भइन् । ‘आफूसँग झण्डै दुई महिना साथमा छोरी नहुँदा दूध खान पनि बिर्सिइन् । त्यही भएर बजारबाट ल्याएको पोकाको दूधलाई दूधदानीमा हालेर खुवाउने गरेको छु ।’ त्यसपछि उनले आफ्नो प्रेम कहानी र पाँच लाखमा बेचिएको छोरी दुईमहिनापछि भेट्दाको क्षणबारे विस्तारमा बताइन् ।
उनी दुई वर्षअगाडि फर्किइन् । गोविन्द र फूलकुमारीको वल्लो–पल्लो गाउँ हो । गोविन्दले गाउँघरमा सिटी सफारी चलाउँदै आएका थिए । गाउँमा आवत–जावत गर्ने क्रममा गोविन्दसँग भेट भयो र चिनजान भयो । त्यसपछि उनी गोविन्दसँग नजिकिइन् । गोविन्द पनि नजिकिए । उनीहरूबीच विवाह गर्ने सल्लाह भएपछि शारीरिक सम्पर्क भएपश्चात् आफू गर्भवती भएको फूलकुमारीले बताइन् । गर्भ बसेको थाहा पाएपछि भने गोविन्द अप्ठ्यारोमा परेको आफूले महसुस गरेको बताइन् । गोविन्दले उनलाई नौ महिनासम्म सन्तानलाई जन्म दिएर विवाह गर्ने वाचा गरिरहे । उनी पनि मख्ख थिइन् । तर, गर्भमा शिशु हुर्कंदै जाँदा त्यसको व्यवस्थापन गरेर प्रेम तोड्न खोजेको भन्ने बल्ल थाहा पाएको उनी बताउँछिन् । फूलकुमारीलाई गाउँलेले सोध्न थाले, ‘तिम्रो पेट किन ठूलो भएको ?’ छिमेकी र साथीहरूले सधैँ यस्तो प्रश्न तेस्र्याउन थालेपछि फूलकुमारीले गोविन्दलाई सुनाए ।
दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले आफूलाई असार १३ गते विराटनगर लिएर आएको उनले सुनाइन् । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर गए । उक्त क्लिनिक स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्ने अवस्था आउँदा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएको अनुसन्धानबाट खुलेको छ । कर्णले गोविन्दसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । महिलालाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गराए । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र महिलाको फूलकुमारी गुरुङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि फूलकुमारीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दियो ।
फूलकुमारीले छोरीलाई जन्म दिइन् । रुँदै जन्मिएकी छोरीलाई हेरेपछि नर्सले लिएर गए । पछि उनले छोरी पाइनन् । सोही दिन अस्पतालले डिस्चार्ज दिएको भन्दै उनलाई प्रेमीले लिएर इटहरीतर्फ लागे । इटहरीमा लगेर उनले होटलमा राखे । बच्चा खोज्दा गोविन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिएको उनी बताउँछिन् । होटलमा पुगेको २ दिनपछि अस्पताल जान्छु भन्दै हिँडेका राई फर्किएनन् । होटलमा अलपत्र परेकी सुत्केरी फूलकुमारीले आफन्तमार्फत् सोनापुरमा डेरा खोजेर बसिन् ।
आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनी साउन ३२ गते प्रहरी कार्यालय मोरङ पुगेकी थिइन् । उनले आफूले जन्म दिएको छोरी खोजी गरिदिन भन्दै जाहेरी लिएर प्रहरीमा पुगिन् । उनले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु ग¥यो । सुरुमा प्रेमी गोविन्द र डाक्टर कर्णलाई पक्राउ गरेको थियो । प्रेमी र डाक्टर पक्राउ परेपछि पाँच लाखमा मोरङको कटहरी गाउँपालिका–२ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अहिले घटनामा संलग्न भएको आरोपमा प्रहरीले उपचारमा संलग्न डा. कर्ण, नवजात शिशुको बाबु गोविन्द, शिशु खरिद गर्ने दिलमाया राजवंशी, उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलासहित छ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेर बेचिएको शिशुको उद्धार गरेपछि मोरङ प्रहरीले फूलकुमारीलाई भदौ ८ गते शिशु हस्तान्तरण गरेको छ । जन्म दिएको झण्डै दुई महिनापछि छोरी काखमा पाएपछि फूलकुमारी अहिले विराटनगरस्थित ओरेक नेपालको आवास गृहमा छिन् । उनलाई अहिले एउटै चिन्ताले सताएको छ । समाजमा कसरी पुनःस्र्थापना हुने । ‘अब म गाउँ जाँदिनँ होला । समाजमा मलाई बाँच्न गाह्रो हुने भयो’ ओरेकको सुरक्षित आवास गृहमा भेटिएकी फूलकुमारीले भनिन्, ‘छोरीलाई भेटेको छु । यही छोरीलाई हुर्काउँछु । यसैको सहारामा अब बाँच्नेछु ।’ उनले भनिन्, ‘अहिलेसम्म घरबाट खोजबखर पनि छैन । त्यसैले पनि अब म गाउँ जाँदिनँ होला ! यहीँ सङ्घर्ष गर्छु र छोरीलाई हुर्काउनेछु ।’
पुनस्र्थापना र अभिभावकत्वको खाँचो
अवैध सम्बन्धबाट शिशु जन्मिएपछि महिलाहरूलाई समाजमा पुनःस्थापित हुन गाह्रो हुने गरेको छ । महिलाहरूका लागि कानूनी उपचार त छ, तर उनीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन त्यति मात्रै पर्याप्त हुँदैन । उनीहरूलाई लामो समय राज्यबाट संरक्षण र अभिभावकत्वको आवश्यकता पर्ने गरेको ओरेक नेपाल मोरङकी प्रमुख सरस्वती दनुवारले बताइन् । यस्ता पीडितलाई केही समयका लागि पुनस्र्थापनामा राख्नेबाहेक अरू कुनै संरक्षणको व्यवस्था नभएको उनी बताउँछिन् ।
‘हामीले विभिन्न सङ्घ–संस्थासँग मिलेर केही समय पुनस्र्थापना केन्द्रमा राख्न सक्छौँ । त्यसबाहेक अरू त्यस्तो कुनै सहायता छैन’–उनले भनिन् । सामाजिक पुनःस्थापनाको लागि समाजमा सचेतना जोगाउनुपर्ने उनले बताइन् । सामाजिक पुनःस्थापनाको लागि पीडित महिलालाई मनोपरामर्श दिने गरेको उनले बताइन् । राज्यले यस्ता महिलाहरूको लागि सामाजिक न्याय दिएर स्वरोजगार र आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्न सक्नुपर्ने उनले बताइन् ।