महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शुल्क १ सय रुपैयाँबाट एकैचोटि ५०० रुपैयाँ बनाइएको छ ।
त्रिभुवन विश्वविद्यालयको नीतिअनुरूप प्रत्येक वर्ष १० प्रतिशतले स्ववियु शुल्क वृद्धि गर्नुपर्ने प्रावधान छ । यता क्याम्पसले स्ववियुसँगको सहकार्यमा एकैपटक ५००* प्रतिशतले वृद्धि गरेको हो ।
शुल्क बढाएको विषयमा विद्यार्थीहरू तथा विद्यार्थी नेताहरूले नै विरोध गरेका छन् । विद्यार्थीको हकहित गर्ने उद्देश्यबाट गठित स्ववियुले नै ५०० प्रतिशत शुल्क बढाउने कार्य कानूनसम्मत पनि नभएको एक विद्यार्थी नेताले बताए ।
यस विषयमा ब्लाष्टकर्मीले तथ्य जाँच गर्दा पनि उक्त कुरा प्रमाणित भयो । क्याम्पसको आर्थिक प्रशासन शाखाले विद्यार्थी भर्ना लिँदाको रसिद बिलमा उक्त कुरा पाइएको छ । क्याम्पसले विद्यार्थी भर्ना गर्दा विभिन्न शीर्षकमा शुल्क लिँदै आएको छ । त्यसमध्ये स्ववियु शुल्क पनि लिने गरेको थियो ।
महेन्द्र क्याम्पसका स्ववियु सभापति युवराज राई (रसिक) ले सर्वदलीय छलफलबाट वृद्धि गरेको स्वीकारे । उनले सबैतिरका क्याम्पसका बुझ्दा वृद्धि गरेको बताउँदै भने, ‘विद्यार्थीकै लागि खर्च गर्ने हो; लामो समय वृद्धि नभएकाले धेरै वृद्धि गर्नुपरेको हो ।’
सबै विद्यार्थी संठनहरूको सहकार्यमा क्याम्पसले शुल्क एकैचोटी चार सय रुपैयाँ बढाएको हो । नेपाल विद्यार्थी संघ एकाइ सभापति सरोज रेग्मीले बताए । विगत १७–१८ वर्षदेखि एक सय रुपैयाँ लिँदै आइरहेको अवस्थामा विद्यार्थी हकहितका लागि स्ववियु मजबुत बनाउने उद्देश्यले वृद्धि गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘नयाँ स्ववियु निर्वाचित भएपछि विद्यार्थी संगठन र स्ववियु छलफल गरेर बढाउने निर्णय गरेको हो ।’ अखिलका एकाइ सभापति शेखर रेग्मीले शुल्क वृद्धि गर्ने विषयमा सबैको सहमति भएको बताए । उनले भने, ‘आन्तरिकबाट पनि वृद्धि गर्ने विषयमा छलफल भएको हो । आन्तरिकबाट कर्मचारी र शिक्षक राख्नुपर्ने भएकाले वृद्धि गरिएको हो ।’
अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका एकाइ सभापति भूपेन्द्र देवानले क्याम्पसको आन्तरिक स्रोतबाट वृद्धि गर्ने सहमति भएको बताए । उनले भने, ‘विद्यार्थीलाई मारमा पर्ने गरी अहिले भएको शुल्क वृद्धिमा पूर्ण असहमत छु ।’ उनका अनुसार क्याम्पसले अमूर्त शीर्षकमा पनि शुल्क लिने गरेको छ । अन्य शुल्कबाट समायोजन गरेर क्याम्पसको आन्तरिक स्रोतबाट वृद्धि गर्ने सहमति भएको उनले बताए । उनले भने, ‘विविध, कर्मचारी संघ, क्याम्पस भवनबाट आम्दानी हुन्छ । ती शुल्कबाट स्ववियुलाई बढाऔँ भन्ने हो ।’
यता क्याम्पस प्रमुख चन्द्रकुमार राईले स्ववियुले विद्यार्थी संगठनहरूसँग सहमति गरेर आएकाले निर्णय गरेको बताए । उनले भने, ‘मैले धेरै हुन्छ । विस्तारै दुई सय, तीन सय रुपैयाँ गर्दै वृद्धि गर्न भनेको तर, हामीले सहमति ग¥यौँ भने । निर्णय हेर्दा पनि सहमति देखिन्छ ।’ उनले आज बुधबार छलफल गरेपछि भर्ना सुरु हुने बताए ।
विद्यार्थीलाई विविध शीर्षकमा ५५ रुपैयाँ लिने गरिएको छ । उक्त रकम केमा खर्च हुन्छ भन्ने विषयमा हालसम्म क्याम्पसले देखाउन सकेको छैन । क्याम्पसमा हाल करिब पाँच हजार पाँच सय विद्यार्थी छन् । सो आधारमा विविध शीर्षकमा मात्रै तीन लाख रुपैयाँको हाराहारीमा रकम उठ्ने देखिन्छ । विविध शीर्षकका विषयमा प्रमुख राईले क्याम्पस व्यवस्थापन, खेलकुदलगायतका काममा खर्च गरिरहेको बताए । तर, क्याम्पसले खेलकुद शीर्षकमा पनि छुट्टै रकम लिँदै आएको छ ।
*यसअघि ४०० प्रतिशत उल्लेख भएकोमा भुलसुधार गरिएको छ । सं.