धरान प्रमुख हर्कराज राई (साम्पाङले) सांस्कृतिक पर्वहरुले हाम्रा मौलिक रीतिरिवाज र रहनसहनको संरक्षण गर्न थप प्रेरणा मिल्ने बताएका छन् ।

मौलिक पर्वले धरानको विकास र समृद्धिका लागि आपसी सहयोग, सकारात्मक भाव, सहिष्णुता र थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै जनैपूर्णिमा, क्वाँती पर्व र गाईजात्राको अवसरमा शुभकामना दिएका छन् ।

हिन्दू धर्मावलम्बीको पर्व जनैपूर्णिमा (रक्षा बन्धन) र नेवार जातिको मौलिक पर्व क्वाँती पर्व र गाईजात्राका अवसरमा नगर प्रमुख साम्पाङले धरानवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माण, उन्नति प्रगति तथा समृद्धिको कामना गरेका छन् ।

शुभकामना वक्तव्य सार्वजनिक गर्दै साम्पाङले
धरान उपमहानगरपालिका विभिन्न जातजाति एवं भाषाभाषीको बसोबास रहेको विविधता युक्त शहर हो भन्दै यहाँ बसोबास गर्ने सबैका आ-आफ्ना मौलिक एवं परम्परागत भेषभूषा चाडपर्व तथा संस्कार संस्कृति रहेको उल्लेख गरेका छन् ।