मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकका भाबुव घिमिरले कक्षा १२ कम्प्युटर विज्ञानमा ३.४५ जिपिए ल्याएर उत्तीर्ण गरेपछि रोजगारको सुरक्षित हुने र भविष्य पनि राम्रो देखेर प्राविधिक विषय लिएर अध्ययन गर्ने योजना बनाए । उनले आफ्नै गाउँमा रहेको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालय रोजे । एक वर्षअगाडि उनले मनमोहनमा सिभिल इन्जिनियरिङ लिएर अध्ययन सुरु गरे । ब्याचलर अफ सिभिल इन्जिनियरिङको प्रथम र दोस्रो सेमेस्टरमा राम्रै अङ्क ल्याएर घिमिरे उत्तीर्ण भए । अहिले उनी तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । पढाइ सक्नेबित्तिकै रोजगारी पाइने भएपछि सिभिल इन्जिनियरिङ लिएर अध्ययन सुरु गरेको उनले सुनाए । ‘सिभिल इन्जिनियरिङमा डिप्लोमा सकेपछि कामका लागि कतै भौंतारिनु पर्दैन’ उनले भने, ‘पढाइ सकिएलगत्तै रोजगार पाइहालिन्छ । कुनै पनि प्राविधिक शिक्षाले विद्यार्थीलाई बेरोजगार बनाउँदैन ।’ घरको काम गर्दै गाउँमै खुलेको देशकै उत्कृष्ट मनमोहन प्राविधिक विश्व विद्यालयमा अध्यनन गर्न पाएको उनले सुनाए ।
कुनै बेला छोराछोरीलाई एसएलसीसम्म पढाएर घर व्यवहारमा लगाउने स्थानीय अभिभावकको प्राविधिक शिक्षामा पनि सहज पहुँच भएकाले यो सम्भव भएको हो । यसले छोरीहरूको मनोबल उकासेको स्थानीयको धारणा छ । ‘छोराछोरीलाई गाउँभन्दा बाहिर राखेर पढाउने चलन थिएन, गाउँमै प्राविधिक कलेज खुलेपछि स्थानीयलाई ऊर्जा दियो’ बूढीगङ्गा गाउँपालिका–४ का उपेन्द्र रायले भने, ‘मनमोहन प्राविधिक विद्यालय खुल्नुअघि एसएलसी सकेपछि थोरै मात्रै पढ्न सहर जान्थे ।’ अहिले गाउँका युवाहरू प्राविधिक विषय पढ्न मनमोहन जाने गरेको उनले बताए । ‘पहिला पहिला हाम्रो गाउँमा आई.ए.÷एसएलसी सकेपछि बिहे गराइदिने चलन थियो’ उनले भने, ‘स्थानीयलाई प्राविधिक शिक्षा भनेकै थाहा थिएन ।’ रायका अनुसार मनमोहन प्राविधिक विश्व विद्यालय खुलेपछि गाउँका युवाहरूको प्राविधिक विषयप्रतिको मोह जाग्दै गएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–५ बलहाकी २१ वर्षीया नितीका दाहाल पनि मनमोहन प्राविधिक विश्व विद्यालयमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत छिन् । पढाइ सकिएपछि सरकारी जागिरको अवसर पाउने र सरकारी नभए निजी क्षेत्रमा सहज रूपमा रोजगारी पाउने भएपछि इन्जिनियरिङ पढेको उनले सुनाइन् । ‘प्राविधिक विषयमा अहिले धेरै राम्रो भविष्य रहेको छ । अभिभावकले पनि सिभिल इन्जिनयरिङ पढ्न उत्प्रेरणा दिनुभयो। त्यसपछि अहिले मनमोहनमा ब्याचलर अफ सिभिल इन्जिनियरिङ पढ्दै आएको छु’–उनले सुनाइन् ।
देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा पढ्न तराईका मात्र नभएर पहाडी जिल्लाका विद्यार्थीको पनि रोजाइ केन्द्र बनेको छ । धनकुटाकी २० वर्षीया अनिसा विश्वकर्मा मनमोहन प्राविधिक विश्वविद्यालयमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत छिन् । उनी छात्रवृत्तिमा अध्ययनरत छिन् । सिभिल इन्जिनियरिङ पढेपछि रोजगारमा कुनै पनि समस्या नहुने भएकोले प्राविधिक विषय रोजाइमा परेको उनले सुनाइन् । ‘अहिले त राज्यको नीति एक स्थानीय तह, एक जना प्राविधिक राख्ने रहेको छ । हामीले पढाइ सकेपछि रोजगारीमा कुनै समस्या नहोला’ उनले भनिन, ‘भए सरकारी, नभए पनि निजी क्षेत्रमा सहज रूपमा काम पाइन्छ ।’ मनमोहन प्राविधिक विश्व विद्यालयमा ब्याचलर अफ सिभिल इन्जिनियरिङ अध्ययन गर्दै आएका सुनसरी रामधुनीका विकास बोगटीले मनमोहन प्राविधिक विश्वविद्यालयमा सिकेको सैद्धान्तिक ज्ञान ल्यावमा आएर व्यवहारमा निर्धक्क भएर उतार्न पाएको बताए । ‘किताबी ज्ञान त लिएका छौं । आफ्नो सिर्जनात्मक क्षमता विकास गर्नसमेत यो आधुनिक ल्यावले थप मद्दत पुगेको छ’ उने भने, ‘परियोजना तयार पार्न पनि सजिलो भएको छ । सरहरूले पनि निकै सुझाव दिनुहुन्छ । पढेको कुरा परियोजनामा उतार्दा प्राविधिक विषय गहन रूपमा बुझ्न सहज भएको छ ।’
सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका ब्याचलर इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रिनिक्स तेस्रो सेमेस्टरमा अध्ययनरत रोशनकुमार मेहताले मनमोहनमा आधुनिक ल्यावमा आर्जन गरेको सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्दै आएको बताए । यहाँको आधुनिक ल्यावमा आफूले निर्धक्क भएर सिक्ने अवसर पएको र दक्ष हुन गुणस्तरीय शिक्षा पाएकोले मनमोहन रोजाइमा परेको उनले सुनाए । प्राविधिक विश्वविद्यालय भनेर गर्व गर्नुको मूल कारण भनेको यहाँ प्राक्टिकल विषयमा बढी फोकस हुने गरेको उनले बताए । ‘अन्य युनिभर्सिटीमा चाहिँ प्राक्टिकल थोरै हुन्छ र सैद्धान्तिक बढी हुन्छ । उनीहरूले ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्राक्टिकल गराउँछन् । हाम्रोमा चाहिँ ५०–५० प्रतिशत हुन्छ’–उनले । इन्जिनियरिङ जस्तो विषय पास गरेर जाने बित्तिकै काम गर्न सक्ने हुनुपर्ने भएकोले सैद्धान्तिक र प्राक्टिकल बराबरी हुने गरेको उनले बताए ।
मनमोहन प्राविधिक विश्व विद्यालयका स्कुल अफ इन्जिनियरिङ सिभिल डिपार्टमेन्ट प्रमुख ओमनारायण चौधरीले लोकसेवा आयोगमा बढी प्राविधिक विषयकै माग हुने भएकाले विस्तारै विद्यार्थीको चासो प्राविधिक शिक्षामा बढ्दै गएको बताए । जागिर नपाए पनि प्राविधिक शिक्षाले स्वरोजगार बनाउने भएकाले अहिले बढी आकर्षण प्राविधिक शिक्षामा रहेको उनले खुलाए । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाँदा पनि सीप प्रमाणित गर्नुपर्ने प्रावधान आएको छ । सीप परीक्षण प्रमाणित गरेर जाने कामदारले अरूभन्दा बढी कमाइ हुने भएकोले पनि गर्ने उनले बताए । वैदेशिक रोजगारीमा जाँदा अब सीपसमेत प्रमाणित गर्नुपर्ने भएपछि प्राविधिक शिक्षा आर्जन गर्नेको सङ्ख्या बढेको उनले बताए । देशकै १३ वटा विश्वविद्यालयमध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन् २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक विषयमा स्नातक तहदेखि पिएचडीसम्म पढाइ सञ्चालन गर्ने योजना बनाएको छ । आगामी पाँच वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुने बताइएको छ ।
यसैगरी सन् २०८३ देखि २०८७ सम्म बायोमेडिकल, अटोमोवाइल, एग्रिकल्चर, फरेष्ट्री, अप्टोमेट्री, होटल मेनेजमेन्ट, ट्रान्सपोटेसन, टनेल लगायतका विषयमा स्नातकोत्तरसम्म र ५ वटा विषयमा पिएचडी सम्मको कक्षा सञ्चलान गर्ने तयारी छ । देशमा सञ्चालन भएका उद्योग व्यवसाय सुहाउँदो जनशक्ति उत्पादन गरेर विदेशी जनशक्तिको आयात घटाउने लक्ष्य विश्वविद्यालयको रहेको छ ।