एक वर्षभित्र दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व धरानका नेवार समुदायले मनाउँदैछन् । धरानका विभिन्न स्थानबाट झाँकीसहितको प्रभातफेरीमा नगर गाईजात्रा मय बन्यो । यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ ।
धरानमा यस पर्व मनाउने क्रममा दिवंगत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गार गरी बजार परिक्रमा गराएर मनाइएको छ । विशेष गरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइन्छ । ‘आफ्ना धर्म संस्कृति–पराम्पराअनुसार बर्सेनि जात्रालाई निरन्तरता दिँदै आएका छौँ’, समुदायका अगुवा सुमन श्रेष्ठले भने । उनका अनुसार जात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागी हुने गर्दछन् ।
धरान नेवार जातिको उल्लेखीय जनसंख्या रहेको क्षेत्र हो । यहाँ मल्लकालीन नेवारी सस्ंकृति, भक्तपुरे गाईजात्रा संस्कृति र मौलिकतालाई यहाँका नेवार समुदायले अनुसरण गर्दै आएका छन् ।
धरानलगायतका आसपासका क्षेत्रहरुमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गार गरी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ ।
जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । विशेषतः पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको ऐतिहासिक तथ्य रहेको पाइन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइरहेको जनश्रुति छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको छ ।
विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा पूर्वका भोजपुर, चैनपुरसहित धरानमा समेत मनाइँदै आएको छ ।
‘क्वाँती पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँती खाने चलन रहँदै आएको छ ।