धरान । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले काठमाडौँ युथ कन्क्लेभमा युवाहरूले सपना देख्नुपर्ने बताएका छन् । उनले युवाहरूलाई प्रेरणा र प्रोत्साहन गरेका थिए ।
काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कन्क्लेभमा प्रबन्ध निर्देशक कायुमोभले युवाहरूले देशको नेतृत्व गर्नुपर्ने बताए । कार्यक्रमका लागि विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरू सहभागी रहेका थिए । यसपटक ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ रहेको थियो ।
१६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अघि बढ्न प्रेरित गरे । जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनु पर्ने बताए । कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरशेफ सन्तोष साह, ट्रेल रनर मीरा राई, ई–सेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायतले सम्बोधन गरेका थिए ।