सङ्घीय सरकारले पुस्तकालय दिवस मनाउन परिपत्र गरे पनि स्थानीय तहले उदासिनता देखाएका छन् । सन्चार क्षेत्र र प्रविधिको बढ्दो विकासले पुस्तकप्रति र पुस्तकालयमै गएर अध्ययन गर्ने परिपाटी ह्रास हुँदै गएको आम बुझाइ छ । स्थानीय तहले नै पुस्तकालयको विकासमा उदासिनता देखाउँदा पठन संस्कृति प्रवर्द्धन हुन सकेको छैन ।
धरान उपमहानगरपालिकाले पब्लिक हाइस्कुलमा पुस्तकालय दिवसको अवसरमा अन्तर्कृया गर्ने कार्यक्रम तय गरेको भए पनि नगर प्रमुख हर्कराज राईको टेबलमा पुगेको फाइल अड्किंदा राष्ट्रिय दिवस मनाउन समन्वय समिति गठन गर्ने काम प्रभावित बनेको छ ।
'धरान उपमहानगरपालिकाले पब्लिक हाइस्कुलमा पुस्तकालय दिवसको अवसरमा अन्तर्कृया गर्ने कार्यक्रम तय भएको थियो । मिडियाका साथीहरुलाई खबर गर्न मैले भनेको थिएँ । म्यासेजहरु आएन ?', शिक्षा महाशाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने,'हिजो छुट्टी थियो । कार्यक्रम मनाउन एउटा समन्वय समिति बनाउन मेयर साबकोमा फाइल पठाइएको थियो । हेरेर पठाउछु भन्नू भाको थियो । आज १५ गते भयो आजको कार्यक्रम, अस्ति पठाउनु भएन आजसम्म फाइल नै राखिदिएर बस्नु भयो ।'
वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले समन्वय गरेर सन्चारमाध्यमलाई खबर गर्ने बताए । धरानले जसोतसो अन्तर्कृयाको कार्यक्रम पब्लिक स्कुलमा तय गरेको छ ।
'एउटा अन्तर्कृया राखौं भनेर हल्लाखल्ला गरिएको भनिएको थियो के भएको रहेछ, मिडियालाई खबर गर्ने भनिएको थियो । म समन्वय गरेर खबर गर्छु ।' वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले भने ।
सुनसरीकै वराहक्षेत्र नगरपालिकाले पनि पुस्तकालय दिवसको अवसरमा कुनै कार्यक्रम गरेन । नगरपालिकामा पुस्तकालय नै नभएकाले दिवस नमनाएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बताए ।
इटहरी उपमहानगरपालिकाले समेत कुनै औपचारिक कार्यक्रम गरेन । 'म बाहिर थिएँ, साथीहरुले केही कार्यक्रम गर्नु भयो कि?' प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले अनभिज्ञता प्रकट गरे । उनले परिपत्र आएको समेत जानकारी राखेनन् ।
दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले पुस्तकालय दिवसको कार्यक्रम आफूलाई ठ्याक्कै थाहा नभएको बताए । उनले शिक्षा शाखालाई सम्पर्क गर्न अनुरोध गरे । शिक्षा शाखा प्रमुख निलमणि खनालले कुनै पनि कार्यक्रम तय नभएको बताए । उनले पुस्तकालयसम्बन्धि कार्यक्रम गर्न बजेट विनियोजन नभएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई दिवस मनाउन पत्राचार गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा गत साउन २२ गते गठित समितिले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवसको तयारी गरेको थियो ।
दिवस मनाउन गठित मूल आयोजक समितिले दिवसलाई रचनात्मकरूपमा मनाउन प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई पत्राचार गरेको थियो ।
स्थानीय सरकारले पुस्तकालयकर्मी, अभियानकर्मी, कर्मचारी र उत्कृष्ट पाठकलाई सम्मान र पुरस्कृत गर्नुपर्ने दायित्व भए पनि धरान उपमहानगरपालिका उदासिन देखिएको छ ।
धरानमा चालु अवस्थामा आधा दर्जन पुस्तकालय छन् । करिब एक दर्जन त बन्द नै भएका छन् । तीमध्ये बुद्धचोकको विमल स्मृति पुस्तकालय, छाताचोकको सार्वजनिक पुस्तकालय, लक्ष्मीचोकको लक्ष्मी वाचनालय, फुस्रेको जनता पुस्तकालय, रेल्वेको सुनौलो पुस्तकालयका आफ्नै भवन छन् । अरू धेरै पुस्तकालयहरूका भवन नभए पनि ‘पुस्तकालय’ धान्न सकिरहेका छैनन् ।
छाताचोकको सार्वजनिक पुस्तकालय भने धरान उपमहानगरपालिकाको स्वामित्वमा छ । विमल स्मृति पुस्तकालाय निजी स्वामित्वमा रहेको छ । अधिकांश पुस्तकालयहरू धरानका भीडभाड हुने र व्यापारिक चोकहरूमै निर्माण भएका छन्, दुईदेखि तीन तलेसम्म । स्थानीय दाता, समाजसेवीहरूले सहयोग गरेर निर्माण भएका र दिएका पुस्तकहरूको लेखाजोखा मात्र गर्ने हो भने पनि धरानमा मात्र कम्तिमा २५ करोड रुपैयाँ बराबरका भौतिक सम्पत्ति सार्वजनिक पुस्तकालयका नाममा देखिन्छन् ।
यस्तै धरान-१५ मा लिम्बू पुस्तकालयको स्थापना गरिएको छ। लिम्बू विद्यार्थी मन्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको थियो । यस्तै धरान १७ मा पुस्तकालय स्थापना गर्न ६ वर्ष अघि साङ्गीतिक कार्यक्रमको आयोजनासमेत गरिएको थियो । पुस्तकालय निर्माण गर्न र नयाँ पुस्तक थप्नका लागि देशविदेशबाट आर्थिक सहयोग समेत हुने गरेको छ ।
तस्बिर- वि स २००४ मा स्थापना भएको धरानको छाताचोकस्थित सार्वजनिक पुस्तकालय ।