‘मधुशाला’ यो चिया पसल मात्रै होइन । यो पुस्तकालय पनि हो । मात्र पुस्तकालय पनि होइन यो दर्शनशाला हो । सर्वधर्म चिन्तनको पाठशाला पनि हो । यो चियालयमा आउने कोही दूध चिया, कोही चिनीबिनाको अनि कोही फिक्का मन पराउँछन् । त्यस्तै पुस्तकहरु पनि यहाँ दर्शन, फिक्सन, ननफिक्सन, कमिक्स सबै उपलब्ध छन् । जसलाई जे मन पर्छ त्यही पढ्छन् ।   


***

पढ्दैछु एउटा पुस्तक 

जिन्दगीको आत्मकथा

बाँकी छ अझै केही पानाहरू ।

***

मधुप्याला उर्फ मधुकर शाक्य । धर्म, मान्यता र मानवतालाई पृथक परिभाषा गर्छन् । उनको एउटा कवितामा हेरौं । 

मान्छेहरु आउँदैछन्

मान्छेहरु जाँदैछन् 

कसैकसैले एक नजर लाउँदछन्

अनि आफ्नै बाटो लाग्छन् 

कसैले उठाउन खोजेनन्

झ्यालबाट हेरिरहेको छु

मातेर हो वा बिरामीले हो

एउटा मान्छे फुटपाथमा लडिरहेको छ

अब तपाईं अनुमान लगाउनुहोस्

त्यो लडेको मान्छेको सट्टामा 

हजारको नोट लडेको हुँदो हो त

के हुन्थ्यो होला ? 

***

Madhushala_blastkhabar.com (3)

‘पुस्तक पढिनुपर्छ,’ मधुप्याला भन्छन्, ‘युवा पुस्ता बहस र तर्क गर्न चाहान्छन् । बहस गर्न अध्ययन चाहिन्छ । अध्ययनबिनाको बहस सतही हुन्छ । गहिराइमा जान त पुस्तक अध्ययन गर्नैपर्छ ।’ 

चिया पसलकै लागि मात्रै भए त उनलाई एउटा कुनै कुना सायद पर्याप्त हुन्थ्यो होला । तर फराकिलो ठाउँ, शितल छहारी र शहरभित्रै एकान्तमा छ मधुशाला । धरान भानुचोक तल झण्डै २ सय मिटर दक्षिणमा पर्छ मानौं यो एउटा ‘बुक रिसोर्ट’ । 

आज सौह्रौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मधुप्यालाको मधुशालाभित्रको पुस्तकालय र उनको  पुस्तक मोहप्रति हामीले छोटो कुराकानी गरेका छौं । उनकै शब्दमा ...

***

मेरो नाम मधुकर शाक्य हो । तर म मधुप्याला लेख्न रुचाउँछु । 

मलाई मधु भनेर सबै चिन्छन् । म चिया बिक्रेता भएकाले ‘प्याला’ अर्थात् गिलास । म आफैं पनि प्याला हुँ जस्तो लाग्छ । त्यही भएर पनि ‘मधु प्याला’ लेख्न थालें । चिया पसलको नाम मधुशाला राखें । अर्थात् मधुको कुटी । 

आज भन्दा १५–१६ वर्ष अगाडि पसलमा पत्रपत्रिकाहरु मात्र राख्थें । नेपालमा प्रकाशित हुने सबै पत्रपत्रिका ल्याएर राख्थें । पढ्न आउने मान्छेहरु धेरै भए । आफू पनि पाठक भएकाले भएका पुस्तक राख्न थालें । किन्दै गएँ । राख्दै गएँ । पछि केही साथीहरुले होस्टेमा हैंसे गर्दै जानु भयो । घरमा भएका किताबहरु पनि ल्याइदिनु भयो । अध्ययनका लागि समय पनि दिने गर्नु भयो । मधुशालाका शुभचिन्तकहरुले ठूलो सहयोग गरिदिनु भयो ।

हाम्रो जमानामा समय बिताउने अरु साधन थिएन । सिनेमा हलमा फिल्म डेढदुई महिना चल्थ्यो । समय बिताउन पनि पुस्तकबाहेक अरु थिएन । हरेकका घरमा मनोहर कहानियाँ १०–१२ वटै हुन्थ्यो । फिल्म फाइल २०–३० वटा हुन्थ्यो । कमिकहरु १०–२० वटा हुन्थ्यो । यानेकी समय बिताउनै पनि केही न केही पढिरहेकै हुन्थ्यो । त्यो बेलाका रानु, गुल्सन नन्दा, वेदप्रकास शर्माहरुका किताब पढिन्थ्यो । पढ्ने लत बस्यो सानैदेखि । त्यसले पनि यो पुस्तकालय निर्माण गर्न प्रेरित गर्यो । 

बर्खाले यहाँ पढ्न आउने मान्छेको कमि भइरहको छ । बिहान पत्रपत्रिका पढ्ने मान्छे आइरहन्छन् । इन्जिनियरिङ क्याम्पसबाट, बिपी प्रतिष्ठान, हात्तिसार क्याम्पसबाट विद्यार्थी पनि आइरहन्छन् । मान्छेहरु ओशो आश्रमबाट पनि आइरहन्छन् । पढ्न त आइरहेकै छन् । अहिले चहलपहल पनि कम छ । बर्खा पनि छ । 

Madhushala_blastkhabar.com (1)

यहाँ लगभग २ हजार पच्चिस सय किताब छन् । दर्शन, फिक्सन, ननफिक्सन, इतिहास, भूगोल, राजनीति सबै खाल्का किताब छन् । यहाँ धेरै मान्छे फिक्सन पढ्ने आउँछन् । त्यसपछि ननफिक्सन । तर पढ्नुपर्ने त ननफिक्सन नै हुन् । उनीहरु अलिक गहिरा किताब पढ्छन् । तर पढ्ने बानीको विकास चाहिं फिक्सनबाटै हुन्छ । 

यहाँ कुमार नगरकोटीज्यू आउनुभयो । उहाँले खुलेर, मूक्तकण्ठले प्रशंसा गर्नुभयो । मनोज गजुरेल आएर दिवाना भएको बताउनुभयो । उहाँले धरान आउनेबित्तिकै यहाँ आउँछु भन्नु भयो । अस्ति डा. सुरेन्द्र केसी आउनुभयो । उहाँले ‘ओहो साथीभाइ भेट्ने ठाउँ त यहाँ पो रहेछ’ भन्नुभयो । तीनघण्टाजस्तो समय दिनुभयो । आगन्तुकहरुले प्रशंसा गरिरहनु भएकै छ । कवि, कलाकार, नेता सबै आउने ठाउँ हो । उहाँहरुले प्रोत्साहन दिनु हुन्छ । सन्तुष्टि के छ भने– दाम नभए पनि नाम छ । धरानको एउटा परिचय पनि हो जस्तो लागेको छ मलाई । देशविदेश टाढाटाढा भएका साथीहरु पनि एकचोटी मधुशाला धरान आउने विचार छ भनेर आफ्ना इच्छाहरु पोख्छन् । खुसी पनि लाग्छ । 

सामाजिक सञ्जाल र प्रविधिको बढ्दो विकासले मानिसले ज्ञान त प्राप्त गरेकै छन् । पुस्तक पढ्ने बानीको ह्रास हुँदै गएको छ । पठनसंस्कृति लोप हुँदै जाँदैछ । तर खुसीको कुरा के छ भने हिजो स्कुलको किताबबाहेक केही पढेको छैन भन्नेहरु यहाँ संगत गरेर किताब किनेर झोलामा बोकेर हिंड्ने भइरहेका छन् । त्यो पनि हाम्रो विजय नै हो ।  

युवा पुस्ता बहस र तर्क गर्न चाहान्छन् । बहस गर्न अध्ययन चाहिन्छ । अध्ययनबिनाको बहस सतही हुन्छ । गहिराइमा जान त पुस्तक अध्ययन गर्नैपर्छ । समय बिताउन मात्रै नभएर इतिहास, भूगोल, दर्शनको जानकारी त लिन अध्ययन गर्नै पर्यो नि । 

पढ्ने विषय मान्छेको रुचीअनुसार हुन्छ । समय बिताउनमात्रै होइन जानकारीका लागि पढ्नुपर्छ । त्यसका लागि ननफिक्सन पढ्नु जरुरी छ । 

***

अहिले देखिएको अवस्था के छ भने– पुस्तकालयहरु दिनैपिच्छे जरजर हुँदैछ, लोप हुँदैछ, हराउँदैछ । उनीहरुले आफूलाई सम्हाल्न सकेको छैन । पठनसंस्कृति पनि हराउँदैछ । जेजस्तो भए पनि यसलाई उत्थान गर्नसक्नुपर्छ । एउटा समाजलाई माथि उठाउन पुस्तकालयको ठूलो भूमिका हुन्छ, पुस्तकहरुको हुन्छ । त्यो राज्यले इमान्दार भएर स्वीकार गर्नुपर्छ । उत्थान गर्ने काममा पनि राज्यले सोच्नुपर्छ । 

राम्राराम्रा पुस्तकहरु व्यक्तिगत पैसाले किन्न पनि नसक्ने हुन्छन् । राष्ट्रपतिको उत्प्रेरणा जगाउने पुस्तकहरुले राज्यले प्रदान गर्नुपर्छ । व्यक्तिलाई इमान्दार भएर उठ्न पनि पुस्तक र शिक्षाकै भूमिका हुन्छ । राज्यले यसप्रति सचेततापूर्वक उत्तरदायित्व निर्वाह गर्नुपर्छ । यसो गर्नाले पुस्तकप्रेमीलाई अझ फाइदा हुन्छ । 

स्थानीय, प्रदेशलगायतका तीनै तहका सरकारले पुस्तकहरु प्रकाशित गर्छन् । निजी क्षेत्रका पनि शोध अनुसन्धान हुन्छन् । त्यस्ता कृतिहरु पनि यस्ता साझा ठाउँमा राख्न सके राम्रो हुन्थ्यो । अहिलेसम्म त्यस्ता कुनै पुस्तक पाउन सकिएको छैन । कहिलेकाहीं यहाँ धरानसम्बन्धी पुस्तक छैन भन्नेहरु पनि आउनुहुन्छ । आफैंलाई लज्जाबोध हुन्छ । पाएसम्म मैले राख्ने गरेको छु । 


Madhushala_blastkhabar.com (2)

छोटा कविता

‘खेल’ 

सबै खेल यो एक मुठी सासकै त रहेछ 

सास हुञ्जेल यो दुनियाँको दौडमा 

ऊ पराजित खेलाडीजस्तै 

एक्लै हिंड्न बाध्य थियो 

सास सकिएपछि आज 

विजेताको रुपमा 

फूलमालासहित काँधमा बोकेर 

साथमा हिंड्दैछ 

***

'सुविधा'

मलाई रंगहरु मनपर्छ 

यसरी पनि त होइन

मेरा नजिकका मान्छेहरु

छेपारा नै भइदिऊन् 

अफसोस मैले कुनै दिन

उनीहरु माझ

फूलहरु हेर्दै भनेको थिएँ 

रंग बदलिनु सुविधा भएछ उनीहरुलाई