धरान ८ स्थित सेउती खोला छेउ वन क्षेत्रमा अवैधानिक रुपमा असफाल्ट प्लान्ट संचालन गर्ने कम्पनी रौताह कन्ट्रक्सनसहित ४ का विरुद्ध सुनसरी जिल्ला अदालतले अन्तरकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश बलराम त्रिपाठीको इजलासले सार्वजनिक सरोकारका विषय भएकाले निषेधाज्ञाको प्रारम्भिक सुनुवाई गर्दै अन्तरकालीन आदेश जारी गरेको हो ।

रौताहा कन्स्ट्रक्सन प्रालिसहित कम्पनीका म्यानेजर रन्जन चौधरी, सव-डिभिजन वन कार्यालय तरहरा साथै जिल्ला वन कार्यालय इनरुवाविरुद्ध आदेश जारी भएको छ ।

आदेशमा निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने आधार कारण भए सबुत प्रमाणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश जारी भएको छ ।
आदेशमा निवेदकले अन्तरिम आदेश माग गरेका सम्बन्धमा अदालतले सव-डिभिजन वन कार्यालय तरहराले रौताहा कन्स्ट्रक्सन प्रालीलाई प्लान्ट बन्द गर्न पत्राचार गरे पनि उक्त स्थानमा नै प्लान्ट राखी अर्को आयोजनाको कार्य गर्ने सम्भावना रहेकाले अन्तरिम आदेश माग गरिएको उल्लेख गरिएको छ ।

अदालतले उक्त स्थानमा धुवाँ धुलो उत्पादन गर्ने, अलकत्रा पकाउने तथा गिट्टी बालुवा ल्याएर राख्ने तथा लाने कार्य नगर्न नगराउन विपक्षीको नाममा आदेश गरेको छ ।

मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १५८(२) र जिल्ला अदालत नियामावली २०७५ को नियम ३४(१) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

नियामक निकाय र कम्पनीबीच राष्ट्रिय योजनाको काम गर्नका लागि सम्झौता भई काम सम्पन्न भएको दुई महिना बितिसक्दा समेत कम्पनीले प्लान्ट उठाउन अटेर गरेको थियो । जनप्रतिनिधिले ताला लगाउदासमेत कम्पनीले रातको समयमा समेत काम गर्दै आएको थियो । साथै नियामक निकाय वन कार्यालयले समेत प्लान्ट उठाउने विषयमा गैरजिम्मेवार जवाफ दिदै आएको थियो ।