नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान  पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरेका छन् । 

माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । यो अभियान देशभर सबै वडामा एकसाथ चल्ने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्दै प्रम प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्ने बताए । अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको बताए । जनतामा अब केही हुन्छ भन्ने आशाको सञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दावी गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा, शहीदहरुको नाम राजपत्रमा प्रकाशन, लडाकुहरुलाई राहत दिने निर्णयले माओवादी आन्दोलनको सम्मान गरेको समेत बताए ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादीको उद्देश्य छ । अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ । 

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । 

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण–विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

 दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने छ ।

माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ‘प्रचण्ड’ सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तिमा एकएक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । अध्यक्ष प्रचण्डले आफूले सातै प्रदेशका एक–एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेकाा छन् । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।