भद्रपुर । ताप्लेजुङबाट घरपायक झापा सरुवा गरिदिने भन्दै चार लाख रुपैयाँ घूस खाने एक समूहले रकम फिर्ता गर्ने भएको छ ।

सिरिजङ्गा गाउँपालिका–३ ताप्लेजुङस्थित सरस्वती माविमा कार्यरत नेपाली विषयका शिक्षक भवानी विष्टलाई झापा सरुवा गरिदिने भन्दै चार लाख रुपैयाँ घूस मागेको विषयमा ब्लाष्ट टाइम्सले समाचार सार्वजनिक गरेपछि रकम फिर्ता दिने भएको हो । मोबाइल बैङ्किङमार्फत् ७५ हजार पठाएको र चेकमार्फत् एक लाख ८० हजार रुपैयाँ फिर्ता गर्ने भनी आफूलाई आश्वासन दिएको विष्टको भनाइ छ ।

माओवादीका नेता भनिने एवम् पत्रकार महासङ्घ झापाका साधारण सदस्यसमेत रहेका पुकार राजवंशीले मोबाइल बैङ्किङमार्फत् ७५ हजार पठाएको विष्टले जानकारी दिए । उनका अनुसार भदौ २१ गते साट्न मिल्ने गरीको चेक पनि दिएको उनको भनाइ छ । विष्टले भीमा राजवंशीको प्रभु बैङ्कको चेकबाट मीनादेवी पौडेलको नाममा चेक लिएको जानकारी दिए । उनका अनुसार उक्त चेक कपिलमणि तिमिल्सनामार्फत् प्राप्त भएको छ । विष्टले चेक पुकार राजवंशीले पठाएको बताए । बाँकी ४५ हजार रकम खर्च भएको भनिएको छ ।

केही रकम फिर्ता पाएपछि शिक्षक विष्टले प्रकाशित समाचारहरूबाट पर्न गएको असरप्रति आफैले दुःख प्रकट गरेका छन् । उनले ‘समाचारका कारण कसैको मानहानि भए क्षमा चाहन्छु’ भनेका छन् । समाचार प्रकाशित भएपछि सरुवाको सेटिङ मिलाइदिने समूहले विष्टलाई तीव्र दबाव दिइरहेका थिए । विभिन्न फोन नम्बरबाट फोन गराएर उल्टै मुद्दा लगाइदिनेलगायतका धाकधम्कीसमेत आइरहेको विष्टले जानकारी दिए । असाध्यै धेरै दबाव दिने काम भइरहेकाले दबावकै कारण आवेगमा आएर बोलेको भन्नुपरेको उनले सुनाए । झापा अर्जुनधारा घर भएका विष्टले सरुवा मिलाइदिन्छु भन्ने स्थानीय नेतालाई चार लाख रुपैयाँ बुझाएको दाबी गरेका थिए ।

घटनाअनुसार शिक्षक विष्टलाई घरबाट आधा घण्टाको दूरीमा सरुवा गरिदिने भन्दै नेकपा (माओवादी केन्द्र) पार्टी निकट शिक्षक नेता कपिलमणि तिम्सिनाले भद्रपुरका माओवादी नेता पुकारचन्द्र राजवंशीसँग सम्पर्क गराएपछि पैसाको चलखेल भएको थियो । राजवंशीले शिक्षक विष्टलाई सरुवा माग्नेहरूको लाइन धेरै भएको बताएपछि उनले गत वैशाख १२ र १३ गते तीन लाख रुपैयाँ जम्मा गरेका थिए । पुकार राजवंशीको प्रस्तावलाई स्वीकार गर्दै विष्टले एनआइसी एसिया बैङ्कमा रहेको राजिन राजवंशीको २४६५७..००१ नम्बरको खातामा मोबाइल बैङ्किङमार्फत् रकम जम्मा गरिदिएका थिए ।

सोही प्रकरणमा काम नभएपछि गीता भट्टराईलाई दिएको एक लाख रुपैयाँ पथरिया मा.वि. कचनकवलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र चामु नेपालले घरमै पुगेर फिर्ता गरेका थिए । यता राजवंशीलाई जम्मा गरेको तीन लाख रुपैयाँ फिर्ता नगरेपछि निवेदन लिएर जिल्ला प्रशासन कार्यालय गएको विष्टले बताए । शिक्षक सरुवामा हुने चलखेलबारे विष्टको घटनाले झापामा तरङ्गित बनाएको छ ।

शिक्षक सरुवामा राजनीतिक दलका नेता र शिक्षक सङ्घ–सङ्गठनका नेताहरूको संलग्नता भत्र्सनायोग्य रहेको अधिकांश शिक्षकहरूको भनाइ छ । गाउँपालिकामा भवानी विष्ट, चन्द्रकला उप्रेती र पूर्ण चाम्लिङको निवेदन परेकोमा चाँडो र व्यावहारिकता हेरेर सरुवा सहमति ल्याउने शिक्षिका चन्द्रकला उप्रेती छनौट भएको हुँदा उप्रेतीलाई पथरिया मा.वि.मा राख्ने निर्णय भएपछि घटना सार्वजनिक भएको थियो ।