धनकुटा । धनकुटा नगरपालिकाले सहकारीको प्रक्रिया पूरा नगरेका १७ सहकारी खारेज गरेको छ ।

जसमा सबैभन्दा बढी कृषि सहकारी परेका छन् । ९ वटा कृषि सहकारी संस्था पूर्णरूपमा कारोबार गर्न नपाउने गरी खारेज भएका छन् । खारेज हुनेमा दुग्ध सङ्कलन र विद्युत् सहकारी एक–एक वटा छन् । त्यसैगरी उपभोक्ता सहकारी ३ र बचत तथा ऋण सहकारी ३ वटा रहेका छन् ।

सबैभन्दा बढी खारेजीमा परेका कृषि सहकारीहरू सहयात्री कृषि सहकारी संस्था लि. धनकुटा–७, टेकुनाला कृषि सहकारी संस्था लि. धनकुटा–८, मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी संस्था लि. धनकुटा–१, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी संस्था लि. धनकुटा–६, सदावहार कृषि सहकारी संस्था लि. धनकुटा ९, सुगन्धित चिया उत्पादन सहकारी संस्था लि. धनकुटा–३, आठपहरिया बङ्गुरपालन सहकारी संस्था लि. धनकुटा–८, नवबिहानी कृषि सहकारी संस्था लि. धनकुटा–२ र सान्ताङ कृषि सहकारी संस्था लि. धनकुटा–८ रहेका छन् ।

यसैगरी उपभोक्ता सहकारीहरूमा थानी उपभोक्ता सहकारी संस्था लि.धनकुटा–९, श्री हजुरको उपभोक्ता सहकारी संस्था लि.धनकुटा–४, जनसहारा उपभोक्ता सहकारी संस्था लि. धनकुटा–१ रहेका छन् । बचत तथा ऋण सहकारीहरूमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–६, क्रमिक दैनिक बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–५ र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–१ हिले रहेका छन् ।

धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ अन्तर्गत बर्सेनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने, तीन महिनाभित्र लेखा परीक्षण गर्नुपर्ने र विवरण कार्यालयमा बुझाउनुपर्ने भए पनि ४ वर्षदेखि यी प्रक्रिया पूरा नगरेको तथा पटक–पटक सूचना गर्दासमेत सम्पर्कमा नआएकाले कानून बमोजिम खारेज गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । अन्य सहकारीसमेत समस्याग्रस्त रहेकाले त्यस्ता सहकारीलाई समेत सुधारका लागि एक महिनाको अवधि दिएको र सुधार नभए अन्य सहकारीसमेत खारेज गरिने भएको छ ।

नियमअनुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक–पटक सूचना जारी गरिएको थियो । अन्तिम पटक गत साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए । समयसीमाभित्र चारवटा सहकारी सम्पर्कमा आएर साधारणसभा गर्ने प्रतिबद्धता जनाएको र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको उनले जानकारी दिए ।

ती सहकारीले तिर्नु वा बुझाउनुपर्ने दायित्व भए साविकको सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गरी लिन र अब उप्रान्त ती संस्थाहरूको नामबाट कुनै कारोबार नगर्न/नगराउँन पनि नगरपालिकाले सूचित गरेको छ । खारेजपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन् ।