नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ धरानमा सुरु भएको छ । आइतबार देशैभरि एकैपटक सुरुवात भएको अभियानमा धरानमा सहिदको सम्मान गर्दै सुरु गरिएको छ । 

धरानमा यात्रु प्रतीक्षालय शिलान्यासका साथै भैपरी आउने कोष सञ्चालन गर्ने निर्णय भएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ को नारासहित धरानका बीसै वटा वडाबाट अभियान सुरु गरिएको हो । 

अभियानका क्रममा धरान–११ कुविर्ता चोकमा निर्माण गरिने यात्रु प्रतीक्षालयको शिलान्यास गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धरान संयोजक अजम्बर राई काङमाङले आइतबार समारोहबीच शिलान्यास गरे । 

यसैगरी धरान–१३ वडा समितिका सदस्यबाट संकलन गरिएको २३ हजार ७ सय ३० रुपैयाँलाई ‘भैपरी आउने कोष’ स्थापना गरी अभियान प्रारम्भ गरिएका छ । 

Maobadi Rupantaran Abhiyan (1)

वडा समितिका अध्यक्ष दिलिप चाम्लिङका अनुसार यो कोषलाई क्रमशः बढाइदैं लगिने छ । बैंकमा खाता खोलिने र सञ्चालन निर्देशिका बनाइने छ । कोष स्थापनाको घोषणा साविक वडावासी पुराना वामपन्थी नेता वम देवानबाट गरिएको थियो । 

धरानका सबै वडाहरूमा सरसफाइ, चेतनामूलक साइनबोर्डको स्थापना, वृक्षरोपण, सडक सरसफाइ तथा मर्मत, सहिद परिवारहरूसँग भेटघाट गरी अभियानको शुभारम्भ गरिएको हो । यो अभियान तीन महिनासम्म चल्ने केन्द्रीय सदस्य काङमाङले बताए ।

Maobadi Rupantaran Abhiyan (3)