भू.पू. लाहुरेहरूले आर्थिक ऋण लगानी गरेर स्थापना भएको वराह ज्वेलरी (वराह ग्रुप अफ कम्पनी) छोटो समयमा नै हजारौं जनताको विश्वास जित्न सफल भयो । वित्तीय संस्थामा मानिसको आस्था र विश्वास बढ्नु भनेको लगानी भित्रिनु हो । यसरी वराहले ‘नुनदेखि सुनसम्म र धरानदेखि बेलायतसम्म’ को नाराका साथ व्यवसाय विस्तार गर्यो । तर, त्यस्तो उचाइमा पुगेको संस्था व्यवस्थापनमा सञ्चालकको कमी–कमजोरीका साथै कोरोना महामारीपछिको मन्दीले अचानक सङ्कटग्रस्त अवस्थामा पुगेको छ । बचतकर्ताहरूले नियमित रूपमा बचत रकम फिर्ता नपाएपछि उनीहरू आन्दोलित भए । केही अवसरवादी व्यक्तिहरूले परिस्थितिलाई उछालेर अझै उग्र बनाएपछि सञ्चालकहरू कम्पनीको सम्पत्ति बेचेर फरार हुन सक्छन् भन्ने शङ्काले सबै चल–अचल सम्पत्ति र बैङ्क खाता रोक्का भयो । व्यवसाय ठप्प भएपछि आम्दानी शून्यावस्थामा पुग्यो । तर, ऋणको ब्याज रोकिएन । ब्याजले सम्पत्तिभन्दा दायित्व धेरै हुन पुग्यो । यसरी निष्क्रिय रहँदा ब्याजमा डुबेर कम्पनीको अवसान हुने कुरा महसुस भएपछि स्थानीय सरकारको सिफारिसमा रोक्कालाई फुकुवा गरी व्यवसाय सञ्चालन गरेर लगानी तथा बचत फिर्ता लिनुभन्दा अर्को विकल्प नभएको निष्कर्षमा पुगिएको छ ।
स्थानीय सरकारलाई अग्रिम जानकारी गराएर धरान शाखाका वराह प्रमुख, वराह पीडित सङ्घर्ष समिति र भू.पू. सैनिक वराह अनुगमन÷सञ्चालन समिति २०८० भाद्र ११ मा त्रिपक्षीय बैठक बसी बृहत् छलफल हुँदा संस्थालाई सङ्कटबाट निकास दिनलाई उद्धारका योजना ल्याएर पुनः सञ्चालन गरेर लगानी÷बचत रकम असुल गर्ने रणनीतिमा सर्वसम्मतले बैठकमा सहमत भएर निर्णय गरिएको छ । धरान वडा नं. २ का अध्यक्ष रमेश राई पनि बैठकमा उपस्थित भएर वराहलाई पुनर्जीवन दिएर सञ्चालन गर्नका निम्ति सबैखाले साथसहयोग दिन तयार भएको साथै धरान उपमहानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूबाट पनि सहयोग जुट्ने प्रतिबद्धता जाहेर भएको थियो ।
तर, अर्कोतिर वराहलाई पुनर्जीवन दिएर अगाडि लाने सहमति हुँदा–हुँदै पनि हामीलाई जानकारी नगराई एक–दुई बचतकर्ताले केही सोझासाझा बचतकर्ताहरूलाई ‘बचत रकम सरकारले फिर्ता दिन्छ’ भन्ने भ्रम सिर्जना गरी उक्साएर विद्यमान सहकारी सङ्घको आन्दोलनमा काठमाडौँ जोडिन तयारीकालागि बचतकर्ताहरूबाट खर्च रकम र बचत पासबुक सङ्कलन भइरहेको सुन्नमा आएको छ । यसबाट हामी चिन्तित छौँ । वराहबाहेक कतिपय अरू धेरै सहकारी संस्थाका सञ्चालकहरू संस्थाको ‘बचत रकम अपचलन वा हिनामिना गरी भागेका (पलायन) सञ्चालकहरूको विरुद्धमा अहिले भइरहेको सहकारी आन्दोलन हो’ भन्ने बुझिन्छ । त्यसमा जोडिनु भनेको वराहका हजारौं पीडित बचतकर्ताको इच्छा र योजना विपरीत कार्य हुनेछ । किनकि वराहका सञ्चालक भागेका छैनन् । वराहको बोट मासिएको छैन । पुनः व्यवसाय सञ्चालन गरेर लगानी तथा बचत फिर्ता गर्ने प्रतिबद्धता जाहेर गरी नै रहेको अवस्था हो ।
सहकारी आन्दोलनको कारणले सरकारले वराहलाई तरलता (लिक्विडिटी) मा लान बाध्य बनाइयो भने सञ्चालकलाई कानूनी कारबाही भई जेल चलान गरेपछि धेरैको रकम फिर्ता नहुने प्रबल सम्भावना बुझिन्छ । त्यस्तो अवस्था भोग्नुपरेमा हजारौँ बचतकर्ताको लगानी डुब्नेछ । त्यस्तो दुर्दशाबाट सुरक्षित रहन सबै बचतकर्ताहरू सचेत हुन जरुरी छ । अहिले रोक्का रहेको वराहको सम्पत्ति र बैङ्क खाता फुकुवा गरी, सामान्यरूपमा व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्नुको विपरीत यो विद्रोही प्रवृत्तिले अप्ठ्यारो स्थिति सिर्जना हुने प्रबल सम्भावना भएकाले सम्पत्ति फुकुवा गर्ने प्रक्रियामा बाधा–अड्चन नहोस् भनी स्थानीय सरकार साथै सबै सरोकारवालाहरूसँग यही आग्रह छ ।
(राई, भू.पू. सैनिकतर्फका वराह अनुगमन÷सञ्चालक समिति अध्यक्ष हुन् ।)