भद्रपुर । झापा मेचीनगर नगरपालिका–७ का ५० वर्षीया कर्मी मुण्डाको परिवार चिया मजदुरीबाट आफ्नो भाग्य र भविष्य खोजी गर्न थालेको पुस्तौँ बितेको छ । दुई पुस्ताले यहीँ भाग्य र भविष्य खोज्दाखोज्दै जीवन बिताए ।

उनको सिङ्गो परिवारको चिया मजदुरकै रूपमा सिङ्गो जीवन व्यतीत भइसकेको छ । अघिल्लो पुस्ताले गर्दै आएको चिया मजदुरको काम आज उनी र उनका श्रीमान्सँगै चार पुस्ताका छोराहरूले गर्दै आइरहेका छन् । बगानका अधिकांश मजदुरका सन्तान चिया बगान छाडेर अन्यत्र मजदुरी गर्न गएका छैनन् । दर्जनौं मजदुरका तीन–चार पुस्ता यहाँ काम गरिरहेका छन् । दुई दशकअघिदेखि तेस्रो, चौथो पुस्ताले बगानमा मजदुरी गरिरहेका छन्् । ५३ वर्षीया मुन्की करुवाका बुबा निताइ करुवाको बगानमै भविष्य खोज्दाखोज्दै जीवन समाप्त भयो । आमा मातुली करुवाको उमेर पनि चियाले नै खाइदियो । अहिले उनको सिङ्गो परिवार मजदुरीमै रमाइरहेको छ । उनीहरूको भन्दा अलि फरक छ, सोही ठाउँका ४७ वर्षका राजन करुवा र लक्ष्मण करुवाको दैनिकी । दुवैले बाबुबाजेको पेशालाई अँगाले पनि चौथो पुस्ताका सन्तानलाई भने विदेश पठाए । राजन परिवारका तीन पुस्ताका चिया मजदुर हुन् । त्यही कामलाई अहिले राजन र उनकी श्रीमती सुशीलाले निरन्तरता दिँदै आइरहेका छन् । तर, दुई सन्तान वैदेशिक रोजगारीमा छन् । लक्ष्मणका तीन सन्तानमध्ये दुईजना विदेश र एकजना साथमै छन् ।

झापाको सतीघट्टा चिया बगानमा अभिभावकसँगै पढ्ने उमेरका बालबालिका पनि मजदुरका रूपमा काम गर्छन् । पुस्तौंदेखि मजदुरी गर्दा पनि केही जोड्न नसकेको उनीहरू बताउँछन् । आर्थिक अवस्था कमजोर हुँदा स्कुल जाने छोराछोरी पनि काम गर्न आउँछन् । उनका छोरा सुरज र छोरी मेलिनाले १० कक्षासम्म त पढे । तर, त्योभन्दा माथि उच्चशिक्षा पढाउन उनको परिवारले नसक्ने भएपछि दुवैले हरेक दिन बिहान चिया बगानमा काम गर्छन् । दिनहुँ चिया बगानमा काम गर्न नआए साँझ चुलो पनि नबल्ने मुन्की करुवा बताउँछिन् । उनका छोराछोरीले पढ्न पाएका छैनन् । चिया बगानमा मजदुरका रूपमा काम गर्छन् । मजदुरीबाट कमाएको रुपैयाँ घरव्यवहार चलाउनमै खर्च हुने गरेको उनले सुनाए । त्यही भएर पढाइ छाडेर छोराछोरीलाई समेत मजदुरीमै ल्याएको बताउँछिन् । बगानले दिएको थोरै जगामा सानो कटेरो बनाएर दुःख–कष्ट गरेर बस्नु परेको पीडा उनीहरूको छ । ‘आकाशबाट खसेको पानीलाई छानोले रोक्न सक्दैन’ उनले भनिन्, ‘रातभरि भाँडा थापेर रात कटाउनु पर्छ । छानोले न घाम छेक्छ, न त पानी नै ।’ यस्तै छ मजदुरको जिन्दगानी उनीहरूले सुनाउँछन् । 

नेपाल स्वतन्त्र चिया मजदुर युनियनका पूर्व केन्द्रीय सदस्य रामचन्द्र अधिकारीका अनुसार सतीघट्टा चिया बगानमा करिब डेढदेखि दुईसय मजदुर छन् । उनीहरू तीन–चार पुस्तादेखि मजदुरी गर्दै आएका छन् । तर, पनि सबैको जीवनस्तर खासै माथि उठ्न नसकेको उनीहरू बताउँछन् । केही परिवारका चार पुस्ताले समेत मजदुरी गरेको अभिलेख भेट्न सकिने अधिकारीको भनाइ छ । अहिले ४ सय ३५ भए पनि काम भएको दिनको मात्र हाजिरा पाइन्छ । घर चलाउन निक्कै कठिन छ । चिया बगान यहाँका मजदुरका लागि वैदेशिक रोजगारी मुलुक झैं भएको राजनले बताए ।

सरकारले बढाएको न्यूनतम् पारिश्रमिक चिया श्रमिकलाई दिन नसक्ने नेपाल चिया उत्पादक सङ्घ झापाले जनाउँदै आइरहेको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार श्रमिकको न्यूनतम् पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पु¥याएको छ । मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम् पारिश्रमिक १७ हजार ३ सय पु¥याएपछि चिया उत्पादक सङ्घका पदाधिकारीसहित चिया उद्योगीहरू छलफलमा बस्दै आइरहेका छन् । यता चिया मजदुरले सरकारले बढाएको न्यूनतम् पारिश्रमिक तथा श्रम ऐन २०७४ लागू नगरेको भन्दै आज (सोमबार)बाट देशभरका चिया बगान ठप्प पार्ने निर्णय गरेका छन् ।

नेपाल चिया बगान श्रमिक सङ्घ, अखिल नेपाल चिया मजदुर सङ्घ, नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक सङ्घलगायतका ट्रेड युनियन समूहको संयुक्त बैठकले यस्तो निर्णय गरेका छन् । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९२० मा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बिउ उपहारमा ल्याएका थिए । त्यसयता ब्रिटिस सरकारको इस्ट इन्डिया कम्पनीमार्फत् दार्जिलिङको विभिन्न पहाडी भेगमा चियाको खेती गरिएको थियो । त्यसपछि नेपालको पहाडी क्षेत्र इलाममा चिया रोपण गरिएको थियो भने क्रमशः पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती गर्न सुुरु गरेको तथ्याङ्क छ । इलाममा ३ हजार ३ सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा ७ हजार १ सय ९५ हेक्टरमा चिया खेती हुँदै आएको छ । झापामा १ हजार ६ सयभन्दाबढी चिया बगान रहेका छन् ।