भारत र पाकिस्तानको क्रिकेट हेरेर मस्त हुने नेपालीहरू बिपनाको घडीमा आइपुगे । आज हामी भारत र पाकिस्तानसँग नेपालले गरेको प्रतिस्पर्धाको खेल हेर्ने भएका छौँ । एक दिवसीय क्रिकेटमा नेपालले मारेको छलाङले आज धेरै देशहरू चकित छन् । ओडिआई अन्तर्गत नेपाल र भारतको प्रतिस्पर्धा हेरिरहँदा र नेपालले पाकिस्तानसँग हारेको नतिजा हेर्दा हामीले सिक्न धेरै बाँकी छ भन्ने देखाउँछ । तर, यसको अर्थ हामी त्यसका लागि योग्य भएका छैनौँ भन्ने होइन । हामी क्रिकेटको नयाँ युगमा पक्कै पनि प्रवेश गरिसकेका छौँ । सीमित साधन, स्रोत, राजनीतिक सङ्क्रमण काल, क्यानको आफ्नै आन्तरिक द्वन्द्व, अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद पनि नेपाली क्रिकेटको स्तरले एउटा उचाइ समातेकै हो । त्यसमा कसैको योगदान छ भने पक्कै पनि खेलाडी र प्रशिक्षकहरूको छ । उनीहरूको अथक प्रयास र मिहिनेतले आज नेपाली क्रिकेट भारत र पाकिस्तानजस्ता हस्तीहरूसँग खेल्न सक्ने योग्यता बनाएको छ । ती महान् खेलाडीहरू जसले नेपाली क्रिकेटलाई दिलोज्यान दिएर यहाँसम्म ल्याइपु¥याए । एसिया कप हेरिरहँदा नेपाली क्रिकेटमा सुधार गर्नुपर्ने थुप्रै पक्षहरू देखिएका छन् । क्रिकेटमा एउटा लामो बिरासत बोकेका देशहरूसँग नेपालले प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन । नेपालका खेलाडीहरूले त्यो दक्षता निर्माण गरिसकेका छैनन् भन्न सकिँदैन तर, अझ सुधार गर्नुपर्ने पक्षहरू भने यथेष्ट छन् ।
नेपालको क्रिकेटको इतिहासलाई नजरअन्दाज गरेर हाम्रो क्रिकेट यात्राको यो धरातल आइपुगेको होइन । राणाकालीन समयमा दरबारमा सीमित रहेको नेपाली क्रिकेटले झण्डै आधा शताब्दी बिताएपछि मात्रै अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्न थालेको थियो । सन् १९९६ देखि मात्रै नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो हिस्सा देखाउन थालेको हो । अन्तर्राष्ट्रिय स्तरमा बामे सरेको झण्डै २२ वर्षपछि मात्रै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा प्रवेश पाएको छ । यसमा समग्र क्रिकेट खेलाडी र क्रिकेटप्रेमीको योगदान छ । नेपाली खेलाडीले गरेको निरन्तर सङ्घर्ष, सीमित स्रोतसाधन, चरम आन्तरिक द्वन्द्वहरूलाई चटक्कै बिर्सनु हुँदैन । यससँगै अन्तर्राष्ट्रिय प्रतिबन्धका माझमा पनि नेपाली क्रिकेट खेलाडीले गरेको चमत्कारिक प्रदर्शन ढुङ्गाको कापमा पीपलको बिरुवा उम्रे झैँ हो । यसकारण पनि नेपाली क्रिकेटलाई सलाम गर्नुपर्छ । नेपाली क्रिकेटलाई यहाँसम्म डो¥याउनका लागि थुप्रै पुस्ताहरूले योगदान दिएका छन् । त्यसमा पनि दुई पुस्ताका यस्ता खेलाडीहरू जसले यहाँसम्म ल्याउनका लागि अहम् योगदान दिए । अझ वर्तमान पुस्ताका क्रिकेटरहरूले नेपाली क्रिकेटलाई अविस्मरणीय बनाएका छन् । यो अभूतपूर्व कालखण्डमा नेपाली राजनीतिक र देशको अवस्था पक्कै पनि रुग्ण थियो । नेपाली राजनीति तरल अवस्थामा थियो र छ । यस्तो अवस्थामा नेपाल सरकार तथा नेपाली राजनीतिकका हस्तीहरूले पूर्वाधार निर्माणमा कहिल्यै चासो देखाएनन् । साधन स्रोतलाई बढाउनेतर्फ कहिल्यै सोचेनन् । भएका भौतिक संरचनालाई थप उन्नत बनाउनेतर्फ पनि कहिल्यै सोचेनन् । यो चाहिँ सबैभन्दा दुःखद् पाटो हो । यो पटाक्षेपको जति नै टीकाटिप्पणी गरे पनि कमै हुन्छ ।
अब हामी एउटा कालखण्डबाट अर्को कालखण्डमा प्रवेश गरेका छौँ । क्रिकेटमा सुन्दर भविष्य देख्ने पुस्ताहरूसँग साक्षात्कार गरेर अगाडि बढिरहेका छौँ । यस्तो अवस्थामा नेपाल सरकारले क्रिकेट मैदान निर्माणतर्फ पक्कै पनि पाइला चाल्नुपर्छ । देशलाई जोड्दै आएको यो खेललाई अझ संसारलाई जोड्ने मार्गदर्शन बन्नुपर्छ । हाम्रा विगतका इतिहास के थिए भन्नेभन्दा पनि त्यो इतिहासलाई सुधार गर्नेतर्फ सरकारका पाइला अगाडि बढ्नु पर्छ । खेल मात्रै खेल होइन भन्ने कुरा अर्जेन्टिनाले फुटबल विश्वकपको उपाधि जित्दा अनुभव गरिएकै हो । खेलसँग पर्यटन जोडिन्छ, आर्थिक जोडिन्छ । खेलले देशलाई जोड्छ । जनताका भावनाहरू जोडिन्छन् । त्यसकारण खेललाई सामान्य नआँकौं । यसलाई राज्यले पनि बढीभन्दा बढी ध्यान दिएर थप लगानी गर्ने वातावरण सिर्जना गरौँ । धुर्मुस–सुन्तलीले चितवनमा निर्माण गर्न लागेको रङ्गशाला तथा अष्ट्रेलियाका व्यवसायीले बुटबलमा निर्माण गर्न लागेको रङ्गशालामा सरकारको प्रत्यक्ष लगानी होस् ता कि खेलाडीहरूले भौतिक पूर्वाधारको कमी महसुस गर्न नपाऊन् । धेरै विषयमा राजनीति गर्ने हाम्रो संस्कार खेलमा भने नगरौँ । त्यो संस्कारलाई अन्त्य गर्नु आजको आवश्यकता हो भन्ने कुरा एसिया कपमा नेपालले गरेको प्रदर्शनबाटै पनि थाहा हुन्छ ।