विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्लो समय प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो ।

कानेपोखरी गाउँपालिका–६ मूलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयले डिजिटल हाजिरीको सुरुवात गरेको छ । यसै महिनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले बताए । ‘शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुन्छन्’ उनले भने, ‘शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेका छौँ । शिक्षक नियमित हुनेबित्तिकै विद्यालयको पठन–पाठनमा धेरै सुधार हुन्छ ।’

विद्यालयले मल्टिमिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । ‘हाल कम्प्युटर, प्रोजेक्टरमार्फत् कक्षामा मल्टिमिडिया प्रयोग गरेर पढाउन सुरु गरेका छौं’–उनले भने । यस आधारभूत विद्यालयलाई गाउँपालिकाभित्रको नमुना विद्यालयको रूपमा विकास गर्न पूर्व विद्यार्थीहरू लागिपरेका छन् । कक्षा पाँचसम्म अध्ययन हुने विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको छ । अहिले आएर प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ गुणस्तरीय बनाउने उद्देश्यले पूर्व विद्यार्थीहरूले सिसी क्यामेरा जडानमा आर्थिक सहयोग पनि गरेका छन् । ११ जना पूर्व विद्यार्थीहरूले प्रविधिमैत्री विद्यालय बनाउनको लागि ९६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष बराइलीले जानकारी दिए । विद्यालय परिसरमा आइतबार सिसी क्यामेरा, डिजिटल हाजिरी, प्रोजेक्टरको उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले जनाएको छ ।

गाउँपालिकाभित्र अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । सरस्वती विद्यालय परिसरभित्र निर्माण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी–६ का ढाकाबहादुर पुरीले स्वर्गीय छोरी पूर्व विद्यार्थी सङ्गीता पुरी र स्वर्गीय आमा जोगमाया पुरीको स्मृतिमा विद्यालय परिसरभित्र खाजा घर निर्माण गरिदिएका हुन् । उक्त खाजा घरको उद्घाटन आइतबार एक कार्यक्रम आयोजना गरी गरिएको छ । पुरीले एक लाख ५० हजार रुपैयाँ खर्चेर खाजा घर निर्माण गरिदिएका हुन् । उनले यसअघि पनि विद्यालयमा ५१ हजार १ सय ५ पाँच रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उक्त कोषको ब्याजबाट विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने गरेको छ । सोही अवसरमा खाजा घर निर्माण गरिदिने पुरीलाई विद्यालयले सम्मान पनि गरेको छ । उनलाई कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।