धरान । धरानको यु.एन.नवोदय कलेजले कक्षा–११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई झापाको धुलाबारीस्थित फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ ।

शनिबार मेची क्राउनको सगरमाथा हलमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको हो । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै कडा मेहनतका साथ अध्ययन गरी अभिभावक र कलेजको नाम राख्न आग्रह गरे ।

विद्यार्थीहरूलाई होटल म्यानेजमेन्टको क्षेत्रमा करियर बनाउनको लागि गन्तव्य पहिल्याउन सजिलो होस् भन्ने उद्देश्यले पाँच तारे होटलको अवलोकन गराइएको क्याम्पस प्रमुख तुम्बापोले बताए । उनले भने, ‘अवलोकन गरेपछि पाँच तारे होटल कस्तो हुँदोरहेछ, सिस्टम कसरी सञ्चालन हुँदोरहेछ भन्ने ज्ञान विद्यार्थीलाई भएको छ, जसले गर्दा विद्यार्थीहरू उत्साहित भएका छन् ।’

कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले सफलता सजिलै हात नलाग्ने हुँदा अहिलेदेखि नै कडा मिहिनेतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाए । झाले यु.एन.नवोदय हस्पिटालिटी इन्डष्ट्रीको पर्याय भएको समेत बताए । कलेजका होटल म्यानेजमेन्ट को–अर्डिनेटर गगनमान श्रेष्ठले कक्षामा पढाइएको सैद्धान्तिक कुरालाई स्टार होटलमा ल्याएर प्रत्यक्ष अवलोकन गराउँदा विद्यार्थीहरूले स्पष्ट बुझेको बताए ।

होटलका फुड एन्ड वेभरेज म्यानेजर अनुपजङ डाँगीले विद्यार्थीहरूलाई होटलको परिभाषाका साथै होटल मेची क्राउनको विभिन्न विभागको बारेमा जानकारी गराए । आफूले पहिलो पटक फाइभ स्टार होटल भिजिट गरी अवलोकन गरेर धेरै कुरा जान्न पाएको भन्दै कक्षा–११ होटल म्यानेजमेन्टकी छात्रा नुयाङ राईले खुसी व्यक्त गरिन् ।

त्यस्तै कक्षा–११ कै अर्की छात्रा अमृता राईले फाइभ स्टार होटल हुनको लागि के के हुनुपर्छ भन्नेबारे थाहा पाउनुका साथै अन्य धेरै कुराको जानकारी पाएको बताइन् ।अवलोकन भ्रमणमा कलेजका अध्यापकहरू राम लिम्बू, नाम्लिङ्हाङ चेम्जोङ, अनिमेस बास्तोला, सृजना लिम्बूलगायतको सहभागिता थियो । अवलोकन भ्रमणमा कक्षा–११ होटल म्यानेजमेन्टमा प्रदेश १ को सोलुखुम्बु जिल्लाबाहेक १३ जिल्लाका विद्यार्थीहरू रहेको कलेजले जनाएको छ ।