धरान । सशस्त्र प्रहरी बलको नं. १ वराह वाहिनीले आचरण विपरीत काम गर्ने सशस्त्र प्रहरीलाई कारबाही तीव्र बनाएको छ ।
६ महिनाअघि बाहिनीपति बनेर आएका डिआईजी अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीको आचरण विपरीत काम गर्नेलाई तुरुन्तै कारबाही गरेर शुद्धीकरण अभियान नै सञ्चालन गरेका छन् ।
डिआईजी पोखरेलको अभियान अन्तर्गत ६ महिनायता २ जना डिएसपी, २ जना इन्स्पेक्टर, ४ जना सइ र अन्य हवल्दार र सिपाहीहरू छन् । सीमा क्षेत्रमा खटिएका बेला विभिन्न व्यक्तिसँग पैसा लिने, अवैध कारोबारमा मिलेमतो गर्नेजस्ता आचरण विपरीतका काम गर्नेलाई सामान्य सचेत गराउनेदेखि निलम्बनसमेत गरिएको छ ।
वराह बाहिनीको तथ्याङ्कअनुसार ६ महिनायता आचरण विपरीत काम गर्ने सशस्त्र प्रहरीका ६ जना निलम्बनमा परेका छन् । त्यस्तै ७ जनाको बढुवा रोक्का, १६ जनाको ग्रेड रोक्का, ४४ जनालाई नसिहत र ५ जनालाई चेतावनी दिइएको छ ।
सुनसरीको कप्तानगञ्ज नाकाको सशस्त्र प्रहरीले अवैध कारोबारमा मिलेमतो गरेको थाहा पाएपछि डिएसपीसहितको पूरै टोली नै हटाएर उदयपुर पठाइएको छ । त्यस्तै झापामा सशस्त्र प्रहरीमाथि नै कुटपिट गरेको घटनामा पनि कारबाही गरिएको छ । आइतबार वाहिनीमा आयोजित पत्रकार भेटघाटमा डिआईजी पोखरेलले भने, ‘झापामा अवैध गतिविधिको निगरानी गर्न मैले नै खटाएको थिएँ तर, उसले कुटपिट गर्नु गलत थियो । त्यसैले उसलाई निलम्बन गरिएको छ ।’
त्यस्तै मोरङमा पनि एक जनाले पैसा लिएको प्रमाण भेटिएपछि उसको जागिर गएको डिआईजी पोखरेलले जानकारी दिए । उनी भन्छन्, ‘मैले एसपीलाई पनि सचेत गराएको छु । कानून विपरीत काम गर्ने कसैले छुट पाउँदैन ।’
डिजाईजी पोखरेलले सामान्य गल्ती गर्ने सशस्त्र प्रहरीलाई वाहिनीमा ‘करेक्सन’ तालिम पनि सञ्चालन गरिरहेका छन् । ६ महिनाको अवधिमा हालसम्म ४ सय जनालाई यस्तो तालिम दिइएको तथ्याङ्क छ । अहिले गल्ती गरे करेक्सन तालिममा परिन्छ भनेर डराउनेहरू धेरै भएको डिआईजी पोखरेलले बताए । सशस्त्र प्रहरीभित्र शुद्धीकरण अभियान चलाइरहेका डिआईजी पोखरेल भन्छन्, ‘मेरो मातहतका कसैले पैसा खाएको, गलत काम गरेको प्रमाणित भए एक घण्टामा कारबाही हुन्छ ।’