धरान । धरान–१५ स्थित केके इन्टरनेसनल स्कुलका सञ्चालक समितिका अध्यक्ष प्रवीण अग्रवालले एक १२ वर्षीय बालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको हो । पीडितको आमाले ब्लाष्टलाई भनिन्, ‘नानीले आफूलाई फलानो मान्छेले यौन दुव्र्यवहार गर्यो, भनेर भन्यो । सुरुमा त विश्वास नै लागेन ।’ उनले प्रहरीमा  मङ्गलबार साँझ पाँच बजेतिर उजुरी दिएको बताइन् । घटनामा सहयोगी भूमिकामा रहेकी मीना पुलामीले १२ वर्षको बच्चामाथि गलत क्रियाकलाप गरेको भनी जानकारी आएपछि के रहेछ भनेर बुझ्दा सत्य रहेको बताइन् । ‘१२ वर्षको बच्चाले ढाँट्छ होला बाबू’ उनले फोनसम्पर्कमा भनिन्, ‘यस्तो केही थाहा नहुने बच्चालाई यस्तो गर्ने ? उसको आमाले मलाई रुँदै यो कुरा सुनाइन् ।’

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले निवेदन परेकाले सम्बन्धित व्यक्तिलाई ल्याएर सोधपुछ भइरहेको बताए । उनले पीडित पक्षबाट निवेदन आएकाले आरोपित अग्रवाललाई नियन्त्रणमा लिएको बताए । यसबारे आरोपित अग्रवाललाई बुझ्नका लागि उनको मोबाइलमा सम्पर्क गर्दा स्विचअफ रहेको पाइयो ।