धरान । सरकारले हालै फेरि सञ्चालनमा ल्याएको हेलो सरकारको टोलफ्री नम्बर ११११ को सेवालाई थप प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ ।

अब एनसेलका ग्राहकले पनि यस नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनासा राख्न सक्नेछन् । आइतबारबाट उद्घाटन गर्दै एनसेलबाट पनि हेलो सरकारको हटलाइन नम्बरमा कल गर्न सकिने घोषणा गरिएको छ । सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए ।

हेलो सरकारमा एनसेल पनि जोडिएकोमा उनले खुसी व्यक्त गरे । हेलो सरकार बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा आएको हो । विगत १२ वर्षदेखि सञ्चालनमा रहे पनि केही समययता निष्क्रिय रहेको छ ।

‘हेलो सरकार’ सरकार आफूले दिएको सेवा प्रभावकारी भए नभएको र जनताको गुनासो सुन्नका लागि बनाइएको सरकारी संयन्त्र हो । ‘सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौँ’–एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अब एनसेलबाट पनि कल लाग्ने व्यवस्था मिलाइएको बताए । प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्ने जनाएको छ ।