कोशी प्रदेशमा हक्की खेलको साख फर्काउने र पुरानै अवस्थामा पहिचान दिलाउने नेपाल हक्की संघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष जीवनराज तिम्सिनाले बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष तिम्सिनाले प्रत्येक वर्ष नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय हक्की प्रतियोगिताको आयोजना गर्ने घोषणा गरे ।
मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित अन्तर्राष्ट्रिय कम्पनी आरती स्ट्रिप्स लिमिटेडका उच्च पदस्थ कर्मचारी तिम्सिनाले आफ्नो अध्यक्षता कोशी प्रदेशमा हक्की खेलको गौरवपूर्ण पुनरागमनका लागि भएको बताए ।
मंगलबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित तिम्सिनाले कोशी प्रदेशको पहिचानका रुपमा हक्की खेलको विकास र प्रवद्र्धनमा सबैको सहयोग लिएर काम गर्ने प्रतिबद्धता जनाए ।
सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित तिम्सिनाको कार्यसमितिको उपाध्यक्षमा पारस थापा र प्रवेश तावा लिम्बू चयन भएका छन् । सचिवमा प्रमिला (एरिका) ढकाल र कोषाध्यक्षमा प्रह्लाद थापा मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद संग्रौला र धिरज अधिकारी चयन भएका छन् ।
अधिवेशनले समितिको सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेश अध्यक्ष एवं वरिष्ठ उद्योगी राजेन्द्र राउत, नेपाल टे«ड यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता र नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेलाई चयन गरिएको छ ।
अधिवेशनमा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगत, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाल हक्की संघ मोरङका अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि प्रकाश दाहालको आतिथ्यता रहेको थियो ।