स्थानीय उद्यमीलाई सशक्त बनाउने उद्देश्यअनुसार प्रयोग गरिएका फोनहरू बिक्री गर्नको लागि दराजले नयाँ प्लेटफर्म प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यू’ ‘डिएलएन’ को सुरुवात गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दराजले उक्त कार्यक्रमको घोषणा गरेको हो ।
स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुवात गरेको जनाएको छ । दराज लाइक न्यूले बिक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउने विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा. ज्योति गिरीले दराज र दराज लाइक न्यूलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको प्रशंसा गरेका थिए । दराज लाइक न्यूको लागि दराज प्लेटफर्ममा बिक्रेता तथा ‘सबको फोन’ का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे ।
पारदर्शिता र कार्य सम्पादन सम्बन्धि विषयमा दराज लाइक न्यूले प्रयोग गरिएको फोनहरु प्रदान गर्ने मात्र भन्दा पनि ग्राहकको लगानीमा पारदर्शिता प्रदान गर्नको लागि भ्याट बिल पनि उपलब्ध गराउनेछ ।
दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल गर्न दराज सधैं अगाडि रहेको बताइन् । ‘हामीले हाम्रो प्लेटफर्ममार्फत् गुणस्तरीय प्रविधि धेरैभन्दा धेरै मानिसलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउँदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौं’ उनले भनिन् ।
दराज लाइक न्युले प्रविधि तथा उपकरणको बजारमा नयाँ परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहकलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसको विश्वास र सन्तुष्टि जगाउने निश्चित रहेको कम्पनीको विश्वास छ ।
यही पहलमार्फत दराज नेपालले उपकरण बजारमा गुणस्तरीय, किफायती, र दिगो उन्नतितर्फ अग्रसर गराउने योजना तयार गरेको दाबी गरेको छ ।