उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र छ लाख २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ का सुशान्त मगर हुन ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए ।
विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।