धनकुटा । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखन निर्मूल’ भन्ने मूल नाराको साथ मानव बेचविखन तथा ओसार–पसारविरुद्धको सत्रौं राष्ट्रिय दिवसको अवसरमा जिल्ला सदरमुकाम धनकुटा बजारमा बुधबार जनचेतनामूलक र्याली आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा निकालिएको जनचेतनामूलक ¥यालीमा विभिन्न सामाजिक सङ्घ–संस्था, सरकारी कार्यालय, तीनै तहका सुरक्षा निकायको सहभागिता रहेको थियो । विभिन्न जनचेतनामूलक नारा लेखिएको प्ले–कार्डसहित स्थानीय मदनचोकबाट सुरु भएको ¥याली धनकुटा बजारको विभिन्न भागको परिक्रमापश्चात् भीमनारायण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरूले मानव बेचविखनविरुद्धको सत्रौं राष्ट्रिय दिवस सफल पारौं, महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार, सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखन निर्मूल, दण्डहीनता अन्त्य गरौं, महिला अधिकार, मानव अधिकार सुनिश्चित गरौंलगायतका नारा लेखिएका जनचेतनामूलक प्ले–कार्ड बोकेर बजारको विभिन्न भागको परिक्रमा गरेका थिए ।
बजार परिक्रमापश्चात् धनकुटा–६ स्थित भीमनारायण चोकमा आयोजित कोणसभालाई नि. प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नि.प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, ‘मानव बेचविखन भन्ने बित्तिकै स्वभाविकरूपमा यौनजन्य क्रियाकलाप, मानव अङ्ग बेचविखन, निकृष्ट श्रम, श्रमशोषण, यौन शोषण आदि पर्दछन् ।’ यस्ता कुराले गर्दा मानव बेचविखनसँगै समुदायमा प्रभाव पार्ने ‘इस्यु’ का हिसाबले फरक–फरक क्रियाकलाप हुनसक्ने भन्दै सहभागी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नि.प्रजिअ न्यौपानेले सचेत गराए । उनले भने, ‘वैदेशिक रोजगारीमा पनि समस्या देखिएको छ, एउटा निश्चित कामको लागि श्रम सम्झौता गरेर लगिएको हुन्छ, त्योभन्दा फरक प्रकृतिको काम दिएर श्रमशोषण गर्नु, यौन शोषण गर्नु पनि मानव बेचविखनको अर्को घतलाग्दो रूप हुनसक्छ, त्यसैले यस्ता कुराबाट सिङ्गो समुदाय सचेत हुनुपर्छ ।’ नेपालको सन्दर्भमा विगत लामो समयदेखि मानव बेचविखन समस्याको रूपमा रहेको नि.प्रजिअ न्यौपानेले बताए । यौनजन्य क्रियाकिलाप, निकृष्ट श्रम जो मानवको लागि जबर्जस्ती गराइएको कारोबारजन्य क्रियाकलापलाई मानव बेचविखनको रूपमा लिन सकिन्छ भन्दै यस्ता क्रियाकलाप समाजमा हुन नदिनको लागि समाज सचेत हुनुपर्नेमा न्यौपानेले जोड दिए । कार्यक्रममा जिल्ला समन्वय उप(प्रमुख सावित्रा राई, महिला अधिकारकर्मी एवम् पहिचानवादी नेतृ पार्वती राई, अन्तरपार्टी महिला सञ्जाल धनकुटाकी अध्यक्ष अम्विका धमला, महिला पुनःस्थापना केन्द्र धनकुटाकी उपाध्यक्ष शुक्री राई, महिला मानव अधिकार रक्षक सञ्जाल धनकुटाकी भगवती कार्की, पारालिगल धनकुटाकी कोपिला शङ्कर र हाम्रो बहुमुखी पाठशाला धनकुटाका अध्यक्ष सरोज भुजेललगायतको उपस्थिति रहेको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सक्कल दर्जाका अधिकृत तथा जवानहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
हाम्रो बहुमुखी पाठशालाको प्रस्तुति
धनकुटाको हाम्रो बहुमुखी पाठशालाले विभिन्न जातजातिको भेषाभूषा लगाएर पाठशालामा नृत्य सिकिरहेका प्रशिक्षार्थीहरू र्यालीमा सहभागी भएका थिए । त्यहाँ रहेका विभिन्न उमेरका बालबालिका तथा किशोर, किशोरीहरूलाई मानव बेचविखन कसरी भइरहेको छ, मानव बेचविखन भनेको के हो ? कसले गर्छ, किन हुन्छ आदिको बारेमा राम्रो ज्ञान भएको छ । हाम्रो बहुमुखी पाठशाला धनकुाटका अध्यक्ष सरोज भूजेलले भने, ‘कहिल्यै पनि यस्ता सचेतनामूलक ¥यालीमा ननिस्किएका बालबालिकाहरूलाई केही न केही नयाँ कुरा सिक्ने अवसर मिलेको छ ।’