कृष्णप्रसाद कोइरालाकी तीन श्रीमतीमध्ये जेठीको प्रसूति व्यथाका क्रममा मृत्यु भएको थियो । तेस्रो (कान्छी) श्रीमती दिव्याबाट बी.पी.को जन्म भएको हो । सुत्केरी हुने बेला जेठी श्रीमतीको मृत्यु भएको कारणले फेरि पनि त्यस्तो घटना नदोहोरियोस् भनेर कतै सुविधा सम्पन्न अस्पतालमा प्रसूति गराउन चाहन्थे, कृष्णप्रसाद कोइराला । त्यस समय नेपालमा गर्भवती महिलालाई सुविधा सम्पन्न अस्पतालमा लगेर प्रसूति गराउने चलन नै थिएन । समाजमा अनौठोजस्तो लाग्ने कुरा हुन्थ्यो । त्यस समयमा धार्मिक प्रवृत्तिका मानिसहरू वृद्ध भएपछि सबै घरव्यवहार र सांसारिक विषयहरू त्यागेर तीर्थस्थल काशी (वनारस) गई बाँकी जीवन बिताउने चलन थियो । त्यसरी नै कृष्णप्रसादले परम्परा र मर्यादाको पनि ख्याल हुने र श्रीमतीलाई पनि अस्पताल लग्न सकिने उपाय बमोजिम उनले पहिले आफ्नी वृद्ध आमालाई काँशी बासका लागि पठाए । त्यसपछि सासूको सेवा गर्न भनेर श्रीमती दिव्या (बी.पी.की आमा) लाई वनारस जाने बाटो सहज भयो । वहाँको त्यो चलाखीपूर्ण निर्णयले परिवार र समाजको मर्यादा पनि जोगियो, पत्नी पे्रममाथि न्याय पनि सम्भव भयो ।
वृद्ध सासूको सेवा गर्दै दिव्या वनारसमा कोखको बच्चा हुर्काइरहेकी थिइन् । समय पुगेपछि उनको प्रसव जटिल हुन गयो अनि बालक र आमाको प्राण रक्षाका लागि डाक्टरलाई घरमै बोलाइयो । शल्यक्रियाबाट दिव्याले छोरा (बी.पी.)लाई वि.सं. १९७१ साल भदौ २४ गते जन्म दिइन् । हाम्रो नेपाली मध्यम्वर्गीय परिवारका लागि शल्यक्रियाबाट सुत्केरी गराउनुु त्यस समयका लागि एउटा क्रान्तिकारी कदम थियो । बी.पी.को जन्मसँग अर्को एउटा संयोग पनि जुरेको छ । एउटा युगको अन्त्य गरी विश्वलाई नयाँ युगतर्फ लैजाने प्रथम विश्वयुद्ध भर्खर सुरु भएको थियो । विश्वयुद्ध सुरु भएको पहिलो महिनामै बी.पी. को जन्म भयो । त्यस बखत पण्डितहरूले नक्षत्र गणनाअनुसार बालकको नाम चूडामणि जुराइदिए । तर, वनारसमा जन्मिएका कारण काँशीका आदिदेव महादेवको प्रसाद ठानेर ठूलो बुबाले वहाँको नाम विश्वेश्वर प्रसाद राखिदिनुभयो ।
भारतमा महात्मा गान्धीले अङ्गे्रजहरूविरुद्ध चलाएको भारत छोडो आन्दोलनमा वहाँको सक्रिय सहमति थियो । त्यही आन्दोलनको क्रममा बी.पी. २९ नोभेम्बर १९४२ मा गिरफ्तार भई १७ जनवरी १९४५ मा रिहा हुनुभयो । कस्तो दुःखद् संयोग भन्नु पर्दछ कि बी.पी.ले आफू जेलमुक्त हुने सूचना पाएकै दिन यता काठमाडौंमा राणा परिवारले बन्दी बनाएका पिता कृष्णप्रसाद कोइरालाको निधनको खबर पनि पाउनुभयो । स्वतन्त्रता प्राप्तिका लागि छोरा (बी.पी.) भारतीय जेलमा र पिता नेपालको जेलमा बन्दी रहनुले प्रजातन्त्रप्रति त्यो परिवारको लगाव स्पष्ट हुन्छ । बी.पी.को विचारमा प्रजातन्त्र आवश्यक छ र हामीले प्रजातन्त्र चाहने हो भने प्रजातन्त्र प्राप्तिको लडाइँलाई बेवास्ता र ढिलो गर्नु हुँदैन भनी २००७ सालमा जनक्रान्तिको नेतृत्व गरेर मध्ययुगीन नेपाललाई आधुनिक र प्रजातान्त्रिक युगमा प्रवेश गराउने श्रेय बी.पी.कोइरालालाई जान्छ । दोस्रो विश्वयुद्धपछि विश्व दुई धु्रवमा विभाजित भयो । समाजवादी भनिने नेतृत्व तत्कालीन सोभियत रुसले गर्यो भने स्वतन्त्र र प्रजातान्त्रिक खेमाको नेतृत्व अमेरिकाले गर्यो । शीतयुद्ध उत्कर्षमा पुग्दै गर्दा बी.पी. नेपालमा दुईतिहाइ मतका साथ २०१६ सालमा प्रधानमन्त्री बन्नुभयो । आफ्ना छरछिमेकमा परिस्थिति बडो अप्ठ्यारो बन्दै थियो तर, पनि त्यो कठिन अवस्थामा बी.पी.ले बडो सुझबुझका साथ देशको नेतृत्व गर्नुभयो । बी.पी. काङ्गे्रसका संस्थापक नेता मात्र होइनन्, नेपालमा प्रजातन्त्र अथवा अहिले भनिने लोकतन्त्रका भाष्यनिर्माता र प्रयोगकर्ता पनि हुन् । नेपाली काङ्गे्रस त्यही विचार, आदर्श र लक्ष्यका लागि बनेको सङ्गठन हो । वहाँ जहिले पनि आम कार्यकर्तामाझ भन्ने गर्नुहुन्थ्यो । नेपालमा प्रजातन्त्र आएपछि पञ्चायतमा विद्यमान खराबी र कमजोरी हट्नेछन् । राष्ट्रमा विधिको शासन हुन्छ, निष्ठावान् राजनीति हुन्छ र देशको राष्ट्रियता मजबुत हुन्छ, गरिब वर्गदेखि सम्पूर्ण जनताले अनुभूति गर्ने गरी देशमा विकास र प्रगति हुनेछ । यो प्रगति र विकास विशेषगरी किसान, मजदुर र गरिबीको चपेटामा परेका वर्गको सुखमा केन्द्रित हुनेछ । तर, के अहिले काङ्ग्रेस बी.पी.को समाजवाद, विचार, आदर्श र लक्ष्यबमोजिम हिँडेको छ (कि छैन ?) यो सम्पूर्ण प्रजातन्त्रमा विश्वास गर्ने र विशेषगरी काङ्गे्रस पार्टीसँग आबद्ध सबैले बुझ्नु पर्ने यथार्थ हो । पञ्चायतमा बी.पी. ले जे खराबी देख्नुभएको थियो, अहिलेको राजनीति त्योभन्दा पनि बढी खराब भएको छ । वहाँले २०३८ सालमा भन्नुहुन्थ्यो, ‘पञ्चायतमा राजनीति गर्नेहरू भूईंफुट्टा नवधनाढ्य वर्गका रूपमा उदाएका छन् । जसले गर्दा देशको अर्थ राजनीतिमा कुनै जरा छैन ।’ तर, विडम्बना २०४७ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्थापना हुँदै गणतन्त्रसम्म आइपुग्दा राजनीति केवल नवधनाढ्य हुने स्वार्थी खेलबाहेक अरू केही भएन । यथार्थमा भन्नुपर्दा वर्तमान राजनीति लुटतन्त्रमा रूपान्तरण भएको छ ।
विदेश नीति र छिमेकीहरूसँग राख्नुपर्ने सम्बन्धमा समेत बी.पी.को स्पष्ट धारणा र राष्ट्रिय अडान थियो । बी.पी. प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतीय सांसद्लाई सम्बोधन गर्दै भने, ‘हाम्रो सुरक्षाको प्रश्न उत्तरमा हिमालसम्म छ ।’ तर, त्यसै बखत बी.पी.ले नेहरूको त्यो भनाइको प्रतिवाद गर्दै भन्नुभएको थियो–‘नेहरूजीले नेपालसँग नसोधी, नेपालमा आफ्नो अधिकार छ जस्तो गरेर त्यसो भन्नुहुने थिएन । नेपाल एक सार्वभौम र स्वतन्त्र मुलुक हो । नेपालले मागेको खण्डमा मात्र भारतले सहयोग गर्ने हो । भारतबाट एकतर्फीरूपमा कारबाही हुन सक्दैन ।’ बी.पी.को अभिव्यक्तिपछि समकक्षी नेहरूले भनेका थिए, ‘बी.पी.को आशय पूर्णतः सही हो । भारतले एकतर्फी कारबाही गर्ने भन्ने प्रश्नै उठ्दैन ।’ तर, के अहिलेको कुनै पनि राजनीतिक दलका शीर्षनेताले राष्ट्र र राष्ट्रियताको सवालमा यसरी स्पष्ट धारणा र राष्ट्रिय अडान राख्ने सामथ्र्य राख्न सक्छन् । हाम्रो छिमेकी देश चीन र भारतमा हालको सबल र प्रभावकारी नेतृत्व अरू केही वर्ष यथावत् कायम रहने देखिन्छ । त्यस्तो अवस्थामा नेपालमा स्थिर र प्रभावकारी शासन र नेतृत्वको अभाव झन्–झन् टड्कारो रूपमा खड्किइ रहेको छ । हामी नेपालीले आफ्नो देशको विकास र निर्माणको चाहना पूरा गर्न छिमेकी देशको नेतृत्ववर्गसँग आत्मविश्वासका साथ सहकार्य गर्न भरपर्दो र सक्षम नेतृत्व प्राप्त गर्न नसके आउने वर्षहरू हाम्रा लागि झन्–झन् असहज र कठिन बन्न जाने खतरा रहन्छ ।
प्रवासबाट नेपाल फर्कने निर्णय लिएपछि बी.पी.ले भन्नुभएको थियो, ‘नेपाल निकै संवेदनशील क्षेत्रमा भएकोले यो अन्तर्राष्ट्रिय चासो र महŒवको देश भएको छ ।’ बी.पी.को आशङ्का थियो– ‘नेपालमा जातिगत अन्तरविरोध चर्काएर नेपाली–नेपालीबीच रहेको एकता खल्बल्याउने, नेपाली–नेपालीबीच तिमीहरू र हामीहरू भन्ने जातीय विद्वेष चर्काउने प्रयास हुनेछन् ।’ नेपालमा अहिले (वर्तमानमा) जुन घटनाक्रमहरू विकास भैरहेका छन्, त्यसलाई मनन् गर्दा बी.पी.ले त्यस बखत भनेका कुराहरू साँचो पुष्टि हुन जान्छ । वर्तमान परिपे्रक्ष्यमा लोकतन्त्र कमजोर भइरहेको छ र लोकतान्त्रिक संस्थाहरूप्रति आम नागरिकहरूको विश्वास घट्दो छ । बी.पी.को आदर्श र विचार आजको राजनीतिसँग मेल खाँदैन । समग्र बुझाइमा लोकतन्त्रमा भनेको केवल कोरा प्रणाली मात्र होइन । जुन संविधान, कानून र नियमले यसलाई सही सलामत राखिदेओस् । यो त संस्कार र मूल्य पद्दति हो । लोकतन्त्रलाई सफल वा असफल बनाउने भन्ने चाहिँ राजनीति गर्ने पात्रको नैतिकता, बुझाइ, व्यवहार र दृष्टिकोेणमा निर्भर पर्छ । तसर्थ सबै राजनीतिक दलहरू आ–आफ्नो उद्देश्यबाट विमुख नभई इमान्दारीपूर्वक देश र जनताको समृद्धितर्फ अगाडि बढाउनु नै आजको आवश्यकता हो ।
(लेखकः बी.पी.कोइराला सङ्ग्रहालय एवम् अनुसन्धान केन्द्र, धरानका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)