कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर जवाफी बहस सकिएको छ ।
आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो । मुद्दाको फैसला आजै गर्ने इजलासको तयारी रहेको बताइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्ध एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट सोमबार बहस भएको थियो । साथै मंगलबार विपक्षीका तर्फबाट बहस सकिएको थियो ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट उक्त मुद्दाको सुनुवाइ भएको थियो ।
भदौ ४ गते प्रदेश सभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत विभाजन सकिएर मत सच्याउने समय समेत अन्त्य भइसकेपछि मतदान गरेका थिए । सोका विरुद्ध भदौ ६ गते नेता कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।