धरान ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हुँदै स्वतन्त्र उम्मेदवारी दिएर धरान ६ मा निर्वाचित भट्टराई राप्रपा प्रवेश गरेका हुन् । 

राप्रपाको नवीन राप्रपा अभियानअन्तर्गत अध्यक्ष राजेन्द्र लिङ्देनले वडाध्यक्ष भट्टराईलाई रुद्राक्षको माला लगाई पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरे । 

लिङदेनले नवीन राप्रपा अभियान देशैभरि सञ्चालनमा आएको बताए । उनले मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता घोषणा भएपछि देशमा अराजकता, बेथिति बढेको बताए । अध्यक्ष लिङ्देनले ०८४ को चुनाव आउनु अगाडि नै देशमा धार्मिक सद्भाव भड्किन थालेकोमा चिन्ता व्यक्त गरे । उनले शान्ति सुरक्षामा चुनौती थपिएकाले यसमा राप्रपा सचेत बन्दै काठमाडौ केन्द्रित आन्दोलनको लागि तयारीमा जुटेको बताए । 

उनले वडाध्यक्षलाई मात्र पार्टी प्रवेश गराए । बाँकी इच्छुकलाई भने धरानको २० वटै वडामा नवीन राप्रपा अभियान सञ्चालन गरी पार्टी सदस्यता प्रदान गर्ने बताए । 

पार्टी प्रवेश गर्दै वडाध्यक्ष भट्टराईले देशको रक्षाका लागि राप्रपाबाहेक अर्को पार्टीको विकल्प नरहेकाले पार्टी प्रवेश गरेको बताए । कार्यक्रमपछि  अध्यक्ष लिङ्देन झापा हुँदै काठमाडौं प्रस्थान गरेका छन् । 

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनसहित केन्द्रीय सदस्य रामकुमार सुब्बा, जिल्ला सदस्यहरु उद्धव श्रेष्ठ, नमूना योन्जन श्रेष्ठ, अशोक अविरल राईको उपस्थिति थियो । यस्तै स्थानीय नेताहरु जुद्ध लोहनी, पूर्णबहादुर बस्नेतलगायतका उपस्थिति थियो ।