विजयपुर । कृषि गणना २०७८ ले नेपालका ५५ प्रतिशत कृषकलाई खानै नपुग्ने तथ्याङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार कृषक परिवार कृषिमा आबद्ध छन् ।

बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आफ्नो कृषि उत्पादनको आम्दानीले २२ लाख ७४ हजार कृषक परिवारलाई खानै नपुग्ने देखाएको हो । खान पुग्ने कृषक परिवार १८ लाख ५६ हजार अर्थात् ४५ प्रतिशत तथ्याङ्कमा देखिएको छ । कृषि गणना २०६८ मा भने वर्षभर खान नपुग्ने कृषक सङ्ख्या ६० प्रतिशत रहेको थियो । १ देखि ३ महिना खान नपुग्ने २३.९ प्रतिशत कृषक परिवार छन् भने ४ देखि ६ महिनासम्म खान नपुग्ने ४७ प्रतिशत कृषक परिवार रहेको तथ्याङ्कले दखाएको छ । ७ देखि ९ महिना खान नपुग्ने कृषक परिवार २०.४ प्रतिशत रहेका छन् ।

१० देखि १२ महिना खान पुग्ने कृषक परिवार ८.८ प्रतिशत मात्रै रहेको छ । खान नपुग्नेमध्येका ६२ प्रतिशत कृषक परिवारले देशभित्रै ज्याला मजदुरी गरी गुजारा चलाउने गरेका छन् । १८ प्रतिशत परिवारले देशबाहिर गएर मजदुरी गरेर खाने गरेको तथ्याङ्कले देखाएको छ । १० प्रतिशत कृषक परिवारले आफ्नै कृषिबाहेकका व्यवसायबाट र ५ प्रतिशतले ऋण लिएर खाने गरेका छन् ।

कृषि गणनाको तथ्याङ्कअनुसार हाल पनि ४८ प्रतिशत कृषकसँग आफ्नो जग्गा छैन । ४८ प्रतिशत कृषक परिवारले अधियाँ, बटैया वा शर्तमा जग्गा कमाउने गरेका छन् । अर्काको जग्गा ठेक्कामा लिएर काम गर्ने कृषक २३ प्रतिशत रहेको छ । कृषि गणनाले १२ प्रतिशत अर्थात् ४ लाख ८३ हजारले कृषि ऋण लिएको देखाएको छ । कृषि गणनामा २०६८ मा भने २२ प्रतिशत अर्थात् ८ लाख ३६ कृषक परिवारले कृषि ऋण लिएका थिए । बिमा सुविधामा पनि न्यून कृषक मात्रै जोडिएका छन् ।

कुल कृषक परिवारको ४ प्रतिशत अर्थात् १ लाख ८२ हजार कृषक परिवारले मात्र बिमा गरेका छन् । राज्यले दिने अनुदान त कृषकले झनै न्यून उपभोग गरेको तथ्याङ्कले देखाएको छ । सरकारी अनुदान पाउने तीन लाख ९ हजार कृषि परिवार अर्थात् ७ प्रतिशत हो । त्यो पनि रासायनिक मलका लागि मात्रै प्राप्त गरेका छन् । हालसम्म पनि हरितगृह÷टनेल पद्दतिबाट खेती गर्ने कृषक परिवार २ प्रतिशत मात्रै भएको तथ्याङ्कले देखाएको छ । ९७ हजार कृषक परिवारले हरितगृह÷टनेल पद्दतिबाट कृषि गर्ने गरेका छन् ।

घट्दो कृषियोग्य जमिन
दश वर्षको अवधिमा कृषियोग्य जमिन ३ लाख ८ हजार हेक्टरले कमी आएको छ । नयाँ तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । कृषि गणना २०६८ मा २५ लाख २६ हजार हेक्टर जग्गा कृषियोग्य भएकोमा २०७८ मा २२ लाख १८ हजार हेक्टर मात्र भएको छ । अघिल्लो गणनाभन्दा खेतीपाती गर्ने परिवारको सङ्ख्या ८ प्रतिशत कमी देखिएको छ ।

१० वर्षमा अस्थायी बाली लागेको जग्गा तीन लाख ९२ हजार हेक्टर अर्थात् १८ प्रतिशतले घटेको छ । अस्थायी गौचरन तथा बाँझो जग्गा क्रमशः ४५ र ९५ प्रतिशतले घटेको छ । फलफूल तथा अन्य स्थायी बाली लागेको जग्गा १४ प्रतिशतले घटेको छ । कृषि गणनामा पहिलो पटक माटो परीक्षण गरिएको छ । ३ प्रतिशत अर्थात् १ लाख ६ हजार कृषक परिवारले मात्रै माटो परीक्षण गर्ने गरेका छन् । २१ प्रतिशत कृषक परिवार मात्रै पूर्णरूपमा कृषिमा संलग्न हुने गरेका छन् । कृषि उत्पादनतर्फ ८८ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यको मुख्य उत्पादन अन्न बाली भएको बताएका छन् । ६ प्रतिशतले तरकारी बाली, ३.४ प्रतिशतले पशुपालन गरेको बताएका छन् ।

६९ प्रतिशत कृषकले घरायसी उपभोगका लागि उत्पादन गर्दछन् । एक प्रतिशत कृषकले मात्रै बिक्रीका लागि उत्पादन गर्ने गरेका छन् । २५ प्रतिशतले बिक्री र उपभोग दुवै गर्ने गरेको बताएका छन् भने केही घरायसी भन्ने कृषक ५ प्रतिशत छन् । १ लाख ५१ हजार कृषक परिवार अर्थात् ४ प्रतिशत कृषकले मात्रै दर्ता गरेर कृषि गर्ने गरेका छन् । ९६ प्रतिशतले दर्ता गरेका छैनन् ।  २०१८ सालदेखि हरेक १०–१० वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले २०७८ चैतदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलनको काम गरेको थियो ।