धनकुटा । करिब रातको दश बजेको थियो । हजारौं दर्शकहरूको धैर्यताको बाँध टुट्न लागिसकेको हो कि भन्ने भान हुन्थ्यो । करिब तीन घण्टादेखि उनीहरू प्रतिक्षारत थिए । जुन दृश्य थियो, श्री कृष्णजन्माष्टमीको अवसरमा धनकुटा–७ स्थित त्रिवेणी माविको प्राङ्गणमा बुधबार साँझ आयोजित विविध सांस्कृतिक कार्यक्रमको ।
सांस्कृतिक कार्यक्रमकी मुख्य आकर्षक थिइन् गायिका एलिना चौहान । जब उनी मञ्चमा नमस्ते धनकुटा भन्दै उक्लिलिइन्; त्यतिबेला आमदर्शकको धैर्यताको बाँध टुट्यो । सबैले गड्गडाएर ताली बजाए । गायिका एलिनाले आफ्नो परिचय दिँदै भनिन्, ‘मैले गीत गाउन थालेको ४–५ वर्ष भयो, धनकुटामा पहिलो पटक आउने अवसर मिलेको छ, धनकुटेली सबैलाई धन्यवाद दिन्छु ।’ उनले आफू धनकुटा आउन पाउँदा धेरै उत्साहित भएको बताइन् । एलिनाले रातको १० बजेसम्म कुरिरहेकोमा उपस्थित दर्शक तथा श्रोतालाई धन्यवाद दिइन् । उनले सुरुमा तिम्रो मायाले बाँधेर राख बोलको गीतबाट सुरु गरिन् । त्यसो त एलिनाले त्यसपछि लगातार एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिन् ।
उनले एहै तिम्रो माया लाग्छ बरिलै, धोकेबाज हौ तिमी, के माया लाग्छ र, मिनिरल वाटर, टुङ्गनाको धुनमा डाँडापारि जुनमा लगायत दर्जन गीत पस्किइन् । उनले करिब डेढ घण्टासम्म धनकुटेली दर्शकलाई नचाइन् ।
उनले बिदा माग्दै आम दर्शकको माया र भरोसाले गर्दा आफू यहाँसम्म आइपुगेको बताइन् । कार्यक्रममा स्थानीय ब्यान्डहरूले पनि प्रस्तुति दिएका थिए । त्यस्तै पूर्वेली लोकगायक इन्द्र सुशेली चोङ्वाङको साङ्गीतिक प्रस्तुति, त्रिवेणी वराह डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्रिवेणी वराह डान्स सेन्टरकी निर्देशक युशीन एस्मालीले सहभागी सबैलाई धन्यवाद दिइन् । यस्तै धनकुटा–५ तल्लो टुँडिखेलमा पनि टिन्सक्रिउ डान्स सेन्टरले १० औँ वर्षिकोत्सव तथा श्री कृष्णजन्माष्टमीको अवसर पारेर बहुसांस्कृतिक साङ्गीतिक कार्यक्रम गरेको थियो ।