नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् ।
प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले बिहीबार दिएको परमादेशअनुसार संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन् ।
निवर्तमान मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको पूर्ण सुनुवाइपछि जारी गरेको परमादेशको आधारमा प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका नेताको नेतृत्वमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।