विराटनगर । मध्यराति विशेष अप्रेसनमा खटिएका सुनसरीका दुई जना प्रहरीलाई आक्रमण गरेर लुटेरा समूहले हतियार लुटेर लगेको पाइएको छ । ड्युटीमा खटिएको प्रहरीको चाइनिज पेस्तोल र म्यागजिनबाट फायरिङ नभएपछि लुटेरा समूहले आक्रमण गरेर उनीहरूको हतियार लुटेको पाइएको हो ।

सुनसरीको दक्षिणीक्षेत्रमा चोरी तस्करी बढेपछि केही दिनयतादेखि विशेष अप्रेसनमा प्रहरी सादा पोसाकमा खटिने गरेको छ । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यससम्बन्धी सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू शुक्रबार राति साढे १२ बजे बर्जु गाउँपालिका–१ शुक्रबारेमा पुगे ।

‘त्यहाँ पुग्ने बितिक्कै लुटेरा समूहसँग सादा पोसाकको प्रहरीको जम्काभेट भयो । ४ जनाको लुटेरा समूहलाई प्रहरीले देखेपछि साथमा बोकेको  चाइनिज पेस्तोल र म्यागजिन तेस्र्याए र फायरिङ गर्न खोजे । तर, दुर्भाग्य उनीहरूको हतियार फायरिङ भएन । त्यसपछि लुटेरा समूह अगाडि बढेर प्रहरीको साथमा भएको हतियार र गोली खोसेर आक्रमण गरी फरार भयो’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘लुटेरा समूहसँग पनि हतियार रहेको थियो । उनीहरूले पनि फायरिङ गर्न खोजेका रहेछन् । उनीहरूको पेस्तोलबाट पनि गोली झरेपछि त्यहाँ फायरिङ भएन र मानवीय क्षति हुनबाट जोगियो ।’

आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको सङ्ख्यामा रहेको समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइयो ।

‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो’ एसपी रेग्मीले भने, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन ।’ आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ ।

६ जना पक्राउ, हतियार लुटपाटमा संलग्न भएको आशङ्का
प्रहरीले मोरङको बूढीगङ्गा गाउँपालिकामा पर्ने निमुवाबाट ६ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले चोरीको ठूलो परिमाणमा मोबाइल फोन बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘पक्राउ परेका शृङ्खलाबद्ध लुटपाटमा संलग्न गिरोहको समूह रहेको पाइएको छ’ उनले भने, ‘हामीले यिनीहरूको कनेक्सन खोज्दैछौँ । यो समूहले सुनसरीको बर्जुमा प्रहरीको हतियार लुटपाट गरेको घटनालाई लिएर पनि अनुसन्धान सुरु भएको छ ।’

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको नाम गोप्य राखेर अनुसन्धान सुरु गरेको छ । ‘अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘पक्राउ परेका समूहले सुनसरी र मोरङमा लुटपाट धन्दा चलाउने गरेको प्रारम्भिक चरणबाट देखिएको छ । यथेष्ट प्रमाणहरू सङ्कलन गर्दैछौँ । आइतबार यस विषयमा हामी जानकारी गराउनेछौँ ।’