समाजवादी मोर्चाले विराटनगरमा ‘सन्देश सभा’ गर्ने भएको छ । भोलि (सोमबार) विराटनगरस्थित मनास्लु होटमा सभा गर्ने भएको हो ।

समाजवादी मोर्चाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी मोर्चाले गर्ने सन्देश सभाको तयारी पूरा भएको जानकारी गराएको छ । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आबद्ध समाजवादी मोर्चाले देशको ७ वटै प्रदेशमा सभा गर्ने भएको हो । कोशी प्रदेशबाट सभाको उद्घाटन हुन लागेको छ । विराटनगरमा हुने सभामा १४ वटै जिल्लाबाट सहभागी हुनेछन् ।

सभालाई प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्नेछन् ।

मोर्चाले आयोजना गर्ने सभाको तयारी पूरा भएको मोर्चा सम्बद्ध दल जसपा प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए । शनिबार पत्रकार सम्मेलन गर्र्दै मोर्चाले सबै तयारी पूरा भएको बताएको हो । सभामा प्रदेशसभा सबै जिल्लाहरूबाट प्रतिनिधि सहभागी हुनेछन् । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन् ।