धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हातहतियार सहितका समूहले उनका भाइलाई खुकुरी प्रहार गरेका छन् ।
धरान १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरु आएर ढुङ्गा–मुढा गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘उपप्रमुख ज्यूको घरमै हात हतियार लिएर भित्र प्रवेश गरी उहाँको कान्छा भाइलाई खुकुरी प्रहार भएको छ ।’ स्थानीयले भने ।
उपप्रमुख बेघाका भाइ विष्णु बेघामाथि आक्रमण भएको स्थानीयले बताए । उनलाई देब्रे गालामा खुकुरी प्रहार भएको स्थानीयले बताएका छन् ।
हातहतियारसहितका समूहले उपप्रमुख बेघाका घरमा आक्रमण गरेको खबर पाएपछि बेघाले प्रहरीलाई फोन गरेका थिए । उपप्रमुख बेघा धरान १२ स्थित नगरपालिकाको कार्यालयबाट धरान १५ स्थित निवासमा आउँदासम्म प्रहरी आइनपुगेको बेघाले गुनासो गरेका छन् ।
बेघाले प्रहरी सेवा चुस्तदुरुस्त हुन नसकेको गुनासो फेसबुकमार्फत् गरेका छन् । उनले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललाई फोन सम्पर्क गरी फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गर्दै प्रहरी नआएको गुनासो गरिरहेको देखिन्छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले प्रहरी समयमै परिचालन गरिए पनि बाटोका कारणले ढिला पुगेको बताए । उनले विस्तृत जानकारी प्राप्त नभएको बताए ।