संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले देशको राजनीतिक क्षेत्र स्तब्ध भएको छ । नेम्वाङको निधनमा सबैजसो राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । दलका नेताहरू मात्र होइन, आम सर्वसाधारणले पनि नेम्वाङको निधनमा एक असल राजनीतिकर्मी, सरल र शालिन नेताको निधनमा दुःख व्यक्त गरेका छन् । नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका नेम्वाङ नेपाली राजनीतिमा कसैलाई नबिझाउने नेताका रूपमा परिचित थिए । उनकै कतिपय समकालीन र उनीपछिका नेताहरू विचार नमिल्दा फरक दलका विरुद्ध आक्रोस पोख्छन् । नेम्वाङ भने आक्रोस पनि शालिन तरिकाले पोख्थे, घुमाउरो पारामा जवाफ दिन्थे । उनी पत्थरको जवाफ फूलले दिन्थे । उनलाई आम मानिसले श्रद्धाले सम्झिने कारण उनको असल कर्म नै हो ।
मन्त्री, सभामुख, संविधानसभा अध्यक्ष र पटक–पटक सांसद् बनेर लामो समय सत्तामा रहेका नेम्वाङ आर्थिक विषयमा खासै विवादमा परेनन् । बरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्दा उनलाई त्यसो गर्न हुँदैन भनेर सम्झाउन, बुझाउन नसकेको भनेर कतिपयले उनको आलोचना भने गरेका थिए । कानूनका ज्ञाता नेम्वाङ संसद्मा होस् वा कुनै कार्यक्रममा शालिन रूपमा प्रस्तुत हुन्थे । कसैलाई घोच्ने, होच्याउने, घृणा गर्ने शब्द प्रयोग गर्दैनथे । कसैको आलोचना तर्कसङ्गत, कानूनसम्मत गर्थे । अरूका कुरा सुन्ने, बुझ्ने उनको स्वभाव थियो । यिनै बानी व्यहोराका कारण नेम्वाङ आम नागरिक माझ प्रिय थिए । पिता अधिवक्तादेखि न्यायाधीशसमेत भएका कारण नेम्वाङ सानैदेखि देशका विभिन्न ठाउँ पुगे, त्यहाँको समाज बुझे । उनी सबैको साझा नेताका रूपमा चित्रित थिए । सबैको हित सोचेर गरेका कतिपय निर्णयका कारण उनलाई आफ्नै समुदायका केही व्यक्तिहरूले भने आलोचना पनि गर्ने गरेका थिए । उनको निधनमा पनि देशका अधिकांश नेता, बुद्धिजीवी स्तब्ध भइरहेका बेला केही व्यक्तिहरूले भने सामाजिक सञ्जालमा खुसी व्यक्त गरे । राजनीति र समाज बुझ्ने कुनै पनि व्यक्तिले कसैको मृत्युमा खुसीयाली व्यक्त गर्दैनन् । त्यसो गर्नु अराजनीतिक, आपराधिक मनोभाव मात्र हो ।
पछिल्लो समय देशमा सार्वजनिक भइरहेका ठूला भ्रष्टाचार, अनियमिततामा राजनीतिक दलकै ठूला नेताहरूसमेत संलग्न रहेका प्रमाण फेला परिरहेका छन् । कतिपय नेता पक्राउ परेका छन्, कतिमाथि गम्भीर अपराधका आरोप लागिरहेका छन् । यसबाट अहिलेका धेरै नेताहरू व्यक्तिगत रूपमा आर्थिक फाइदाको बाटोमा लागेको प्रष्ट छ । एमालेकै पनि थुप्रै नेताहरू विभिन्न अभियोगमा मुछिएका छन् तर, नेम्वाङ यस्ता काण्डमा मुछिएनन् । अन्य नेताहरू एकपटक सत्तामा पुगेपछि आफ्नो पुरानो पेसा चट्टै बिर्सिएर आजीवन राज्यको सुविधाको आशामा रहेको देखिन्छ । नेम्वाङ भने पहिलो संविधानसभा विघटनपछि आफ्नै पुरानो पेसा वकालतमा फर्किएका थिए । उनी पुनः कालोकोट लगाएर अदालतमा बहस गर्न पुग्थे । नेपालको वर्तमान संविधानमा धर्म निरपेक्षता, सङ्घीयतालगायत समानताका धेरै विषय समावेश गराउनमा नेम्वाङको महत्वपूर्ण भूमिका छ । नेपालका धेरै ऐन कानून निर्माणमा उनको योगदान अतुलनीय छ । त्यस्तै नेपालको राजनीतिमा शालिनता, विनम्रता, इमान्दारिता प्रस्तुत गरेर उनले राजनीति गर्न उग्र भाषण, उग्र व्यवहार आवश्यक छैन भनेर देखाएका छन् । उनका यी गुणहरू राजनीति गर्नेहरूले सिक्न जरुरी छ । उनले देखाएको असल कर्मको बाटो हिँड्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।