धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हातहतियारसहित आक्रमण गरिएको घटनामा उपप्रमुख बेघाका भाइ विष्णु बेघासहित ८ जनाउपर प्रहरीले अनुसन्धान थालेको छ ।
मंगलबार भएको दुई पक्षीय हतियार आक्रमणको घटनामा गम्भीर घाइते भई उपचारत सन्देश राईले उपमेयर बेघाका भाइसमेत हतियार आक्रमणमा संलग्न रहेको भनेपछि विष्णुलाई समेत अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
उपप्रमुख बेघाका भाइ विष्णु र घाइते सन्देशका पक्षका युवाहरु घरेलु हतियारसहित ग्याङ फाइटमा उत्रिएको प्रहरीको भनाइ छ । विष्णु पक्षका युवाहरुले सन्देशलाई खुकुरी आक्रमण गरेपछि उनलाई लखेट्दै उपप्रमुख बेघाको घरमा प्रवेश गरी आक्रमण गरेको स्थानीयले बताएका छन् ।
‘मुख्य घाइतेले ‘विष्णु बेघा पनि हो’ भनेपछि नियन्त्रणमा लिएर अनुसन्धान हुँदैछ, जम्मा ८ जना नियन्त्रणमा छन्, घटनामा अन्यको संलग्नता समेत अनुसन्धान हुँदैछ ।’ धरानका डिएसपी नवराज मल्ल भने ।
इलाका प्रहरी कार्यालय धरानले विष्णु पक्षका ३ जना र सन्देश समूहका ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङ रहेका छन् । सन्देश समूहका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई र सञ्जीव राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा घाइते उपप्रमुख बेघाका भाइ विष्णुको अनुहार र टाउकोमा सामान्य चोट लागेको छ । अर्को समूहका सन्देशको कम्मरमा गहिरो चोट लागेको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ ।