धरान । धेरैलाई नेपालमै स्वरोजगार बन्नू भनेर अर्ति दिने जीवनकाजी श्रेष्ठले ढाका व्यवसायमा आफू मात्रै हैन, चार भाइ छोरालाई डोर्याएका छन् । ब्लाष्टकर्मीसामु जीवनकाजी भन्छन्, ‘किन जानु विदेश ? देशमै आफ्नै मौलिक व्यवसाय गर्ने हो, मैले आफू त गरेँ, सबै छोरा यहीँ काम गर्छन् ।’
धरान–२ को गीता मन्दिर लाइन छिरेदेखि नै पूर्वेली ढाका ट्रेडर्सका पसलहरू देखिन्छन् । पसलमा ढाकाका कपडा मात्रै सजिएका हुन्छन् । डमीमा होस् या र्याकमा ढाकाको कपडा थाकमाथि थाक मिलाएर राखिएको छ । पुरानो बजारदेखि गीता मन्दिर लाइनमा जीवनकाजीका पसल मात्रै छैनन्, चार छोराहरू प्रवीण, दिलिप, प्रतीक र प्रशान्तको पनि पसल देखिन्छ । ३५ वर्षदेखि यही पेशामा छन् उनी र उनको परिवार । धरानदेखि काठमाडौँसम्म उनको व्यापार फैलिएको छ । माओवादी द्वन्द्वकालले झ्वाप्पै छोपेको थियो । धरानमा चन्दाआतङ्क मच्चिएको थियो । माओवादी द्वन्द्वले सहर पनि अछुतो थिएन । त्यही अप्ठ्यारो परिस्थितिमा जीवनकाजीले जीवन चलाउने माध्यम रोजे, २०५८ सालमा ।
‘त्यसबेलाको समयमा व्यापार गर्नु निकै गाह्रो थियो, लगानी गर्दा पनि डुब्ला कि भनेर सोच्नुपथ्र्यो, समय त्यस्तै थियो’ जीवनकाजी भन्छन्, ‘अहिलेको जस्तो व्यापार पनि हुँदैनथ्यो । १० लाख रुपैयाँ पुँजीबाट सुरु भएको व्यवसाय २२ वर्षमा दुई सय ८० जनालाई रोजगारी दिने भएको छ । पुँजी बढेर करोडमा पुगेको छ । उनको उद्योगमा काम गर्नेले १० हजारदेखि ३० हजार रुपैयाँसम्म तलब खान्छन् । उनको उद्योगमा ढाकाटोपी बुन्ने, तान बुन्ने, धागो बनाउने कालीगडहरू र पसलमा काम गर्नेहरू छन् । उद्योगबाट उत्पादित ढाकाका कपडालाई आफ्नै पसलबाट र अन्य पसललाई बिक्री गर्छन् । पसलमा ढाकाटोपी, सारी, सल, मफलर, बर्की, चौबन्दी चोलो, दौरासुरुवाल, जामा, टाई, लुङ्गी, नेवारी पोसाक, ढाकाको पर्स, झोलालगायत सामग्री पाइन्छ ।
२२ वर्षे अवधिमा नाफाघाटाको बेहिसाब छ उनीसँग । उनको मूलमन्त्र ‘निरन्तरता’ हो । त्यही निरन्तरताले आज जीवनकाजी र छोराहरूको धरानमा अलग्गै पहिचान छ । पसलको अलग पहिचान छ । मौलिक पहिरन र हातैले बुनेका सामग्री खोज्न उनकै पसलमा आइपुग्छन् । ‘यतिका वर्ष कमाएको नाफाघाटा नै यही हो’ उनले भने, ‘सुरुमा हातले बुनेको नेपाली पोसाक महँगो हुन्छ भन्ने मान्छेमा भ्रम थियो, तर महँगोभन्दा पनि यसको महत्व ठूलो कुरा हो ।’ उनको पसलमा आउने ढाकाका कपडा उनको उद्योगबाट उत्पादन भएको मात्रै छैनन् । जेलजीवन बिताइरहेका कैदीबन्दीहरूले निर्माण गरेका सामग्री पनि राखिदिने गरेका छन् । झुम्का, विराटनगर, राजविराज, वीरगञ्ज, ताप्लेजुङ, भोजपुर, पाँचथर, तेह्रथुम, धनकुटा, काठमाडौं सेन्टरजेल र डिल्लीबजार जेलका कैदीहरूले बुनेको ढाकाका सामग्रीहरू आइपुग्ने गरेको उनको भनाइ छ ।
धरानमा मात्रै पूर्वेली ढाका उद्योगका ३ वटा पसल सञ्चालनमा छन् । व्यवसायलाई धरानमा सीमित नगरी अहिले पूर्वेली ढाका उद्योगको होलसेल पसल काठमाडौँमा पनि सञ्चालनमा ल्याएको उनी बताउँछन् । जीवनकाजी भन्छन्, ‘ढाकाको सामान सदावहार नै हुनाले उत्तिकै माग हुने र बिक्री हुने गर्छ, ढाका कपडाको छुट्टै महत्व हुने भएकाले राष्ट्रिय पोसाकको रूपमा समेत प्रयोग हुने गर्छ । नेपालबाहिर बस्ने नेपालीहरूले बढी ढाकाको कपडा लगाउने गरेका छन् ।’ विदेशमा बस्ने नेपालीहरूबाट माग भई आउने भएकाले उनले अनलाइनमार्फत् युके, हङ्कङ, क्यानडा, पोल्याण्डलगायतका देशमा समेत सामान पठाउने गरेका छन् ।
तर, पहिलेको तुलनामा कोरोना सङ्क्रमणपश्चात् ४० प्रतिशतले व्यापार कम भएको उनको भनाइ छ । नेपालमा व्यवसाय गर्नेहरूलाई सरकारले कुनै किसिमको सहयोग नगरेको देख्दा उनी दुःखित हुन्छन् । ‘व्यापार गर्नेहरूलाई सरकारले अनुदान दिनसके नेपाली युवाहरू विदेश जानु पर्दैन’ उनी भन्छन्, ‘नेपालमा व्यापार गर्नसके आफूमात्रै नभएर अरूलाई पनि रोजगारी दिन सकिन्छ ।’
बाबुको बिँडो थाम्दै छोराहरू
जीवनकाजीले सुरु गरेको व्यवसायमा उनका छोराहरूसमेत लागिपरेका छन् । आफू मात्रै नभएर उनका ४ जना छोराहरूलाई समेत नेपालमै स्वरोजगार बनाएका छन् जीवनकाजीले । उनका छोराहरूले समेत बाबुले विगतदेखि गरिआएको व्यापारलाई नै अपनाएको साइँला छोरा प्रतीक श्रेष्ठ बताउँछन् । उनले यो व्यवसायमा १६ वर्षदेखि बाबुलाई सहयोग गर्दै आएका छन् ।
कान्छा भाइ प्रशान्तले एकाउन्टमा मास्टर्स गरेका छन् । पछि उनले कम्प्युटर इन्जिनियरिङ पनि गरे । तर, पनि उनी आफ्नै बाबुको पेशा, व्यवसायलाई अँगालिरहेका छन् । उनले बाबुकै पेशा अँगालेको ४ वर्ष भयो । जेठा प्रवीणले बाबुको पेशा अँगालेको १९ वर्ष भयो । माइला दिलिपले समेत यो पेशा अँगालेको १७ वर्ष भयो । उनी पनि निरन्तर बाबुलेस्नेहा श्रेष्ठ अँगालेकै पेशामा छन् । जेठाले धरान–२ स्थित कोसेली ढाका उद्योग सञ्चालन गरेका छन् । माइला छोराले पुरानो बजारमा रहेको पूर्वेली ढाका उद्योग सञ्चालन गर्दै आएका छन् । साइँला प्रतीकले भने गीता मन्दिरमा अवस्थित पूर्वेली ढाका ट्रेडर्स सञ्चालन गर्दै आएका छन् । यस्तै कान्छा प्रशान्त श्रेष्ठ भने काठमाडौँमा रहेर ढाका उद्योग सञ्चालन गर्दै आएका छन् ।