साँझबिहानको छाक टार्न करेसाबारीमा तरकारी रोप्दै आएका झापाका निर्मल अधिकारी आजकाल वार्षिक करोडभन्दा माथिको तरकारी बिक्री गर्ने व्यावसायिक कृषक दरिएका छन् ।
झापा अर्जुनधाराका ३२ वर्षीय व्यवसायी अधिकारीले सञ्चालन गरेको मामा भाञ्जा कृषि फर्म तथा अनुसन्धान केन्द्र अहिले नमुनायोग्यसँगै रमणीय देखिएको छ । उमेरसँगै करिब १० वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएर काम गर्दैजाँदा यो मेहनत स्वदेशमा नै गएर गर्दा के हुँदोरहेछ भन्दै २० महिना बसेर नेपाल आएको उनले स्मरण गरे । अर्जुनधारामा सानो खेती गर्दै गरेपछि विदेशमा रहेका उनका मामा भक्तबहादुर भुजेललाई समेत नेपाल बोलाएर अन्दाजी ७ बिघा जमिनमा तरकारी खेती गर्न थालेको सुनाउँछन् । विदेशबाट ल्याएको केही रकम र सनराइज बैङ्कबाट १५ लाख रुपैयाँ ऋण लिएर विभिन्न क्षेत्रमा ६४ बिघा जमिनमा तरकारी खेती गर्दै आएको उनले बताए । मामा भाञ्जाले सञ्चालन गरेका कारण फर्म पनि मामा भाञ्जाकै नाममा दर्ता गरिएको उनले जनाए ।
सञ्चालनकै क्रममा केही वर्षअघि मामा भाञ्जा फर्मबाट अलग रही दुईवटा गाई फर्मसँग सम्झौता गरेर स्वरोजगार कृषि फर्म दर्ता गरी प्राइम बैङ्कमार्फत् ८० लाख रुपैयाँ ऋण लिएर पछिल्लो समय झापामा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीस्थित भद्रपुर–१० मा वार्षिक सम्झौता गरी लगभग १९ बिघा जमिनमा तरकारी खेती लगाउँदै आइरहेको उनले बताए ।
ठूलो लगानी गरेर सुरुवात गर्दैगर्दा विश्वभर फैलिएको कोरोना महामारीले सबै तरकारी बारीमै खेर गएको उनले स्मरण गराए । लकडाउनका कारण करोडभन्दा बढी घाटा भएको उनको भनाइ छ । पुनः लगानी गर्दा दोस्रो लटको महामारीले फेरि थला पारेको उनले बताए । रकमजति सबै सकिएकोले घरमा रहेको सुनचाँदी बेचेर निरन्तरता दिँदै गर्दा ०७९ चैत १७ गते रातिको असिना पानी र हावाहुरीले सबै नष्ट गरेपछि आत्महत्याको सोचसमेत आएको उनले सुनाए । ‘समुद्रमा हाम्फालेपछि कि गोहीले खान्छ कि हीरा लिएर निस्कन्छ’ भन्ने अठोट राखेर खेतीलाई निरन्तरता दिएको उनको भनाइ छ । सानै उमेरदेखि लहरेखेतीमा रुचि रहेकोले मौसम अनुसारका काँक्रा, तीतेकरेला, तुने बोडी, घिरौँला, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आइरहेको उनको भनाइ छ । हाल स्थानीय सविन जोगीको साझेदारीमा सञ्चालन हुँदै आएको तरकारी खेतीमा स्थायी १५ जना कर्मचारी र समयअनुसार ६० जनासम्म दैनिक कामदार परिचालन गर्दैै आइरहेको उनले जानकारी दिए । वार्षिक १ करोड खर्च हुँदै आइरहेको छ भने ४० प्रतिशतसम्म नाफा हुने गरेको उनले बताए ।
उत्पादन भएका तरकारी कृषिथोक बिर्तामोड जाने र त्यहाँबाट धरान, ताप्लेजुङसम्म पुग्दै आएको अर्का शेयर होल्डर सविन जोगी बताउँछन् । वैदेशिक रोजगारीमा केही वर्ष काम गरेर स्वदेश आई कृषि औजार खरिद गरी मेसिनबाट सबैतिर सेवा दिँदै आइरहेको अवस्थामा सेवालाई निरन्तरता दिँदै एक वर्षयताबाट तरकारी खेतीमा जोडिएको उनको भनाइ छ । विदेश गएर बगाइने पसिना थोरैमात्र स्वदेशमा बगाउँदा उचित हुने भएकोले सकभर विदेश नजान उनले सुझाव दिए । दुईवटा गाई फर्मबाट गोबरमलको सम्झौता र अन्यबाट ल्याएर बढी गोबर कम विषादी प्रयोग गरी आइपिएम प्रविधिबाट खेती गर्दै आइरहेको उनको भनाइ छ ।
हालसम्म राज्यले कुनै पनि सहयोग नगरेको सञ्चालक अधिकारीको भनाइ छ । कठिन अवस्थामा समेत राज्यको तर्फबाट सहयोग नपाउनु दुःखद् भएको उनले सुनाए । असिना पानीले पु¥याएको ५० लाख रुपैयाँ क्षतिका लागि कोशी प्रदेशका तत्कालीन कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलासँग पटक–पटक सम्पर्क गरे पनि आश्वासन मात्र दिएको तर, काम नगरेको उनले बताए । यता सोही क्षतिका लागि भद्रपुर नगरपालिकाबाट ४० हजार रुपैयाँ क्षतिपूर्ति बापत पाएको उनले बताए । क्षति भएपछि घरपरिवार, आफन्तबाट हौसला पाएको भन्दै किसान साथीहरूबाट प्लाष्टिक, बिउविजन सहयोग पाएको तर, राज्यले वास्ता नगरेको हँुदा उनले राज्यप्रति गुनासो गरे ।
वार्षिक करोडभन्दा माथिको तरकारी उत्पादन गर्दासमेत राज्यको आँखा नपर्नुमा दुःख लागेको उनीहरूले पीडा सुनाए । भारतबाट आउने तरकारीमध्ये एक करोड मूल्य बराबरको तरकारी रोकेको उनीहरूको भनाइ छ । कृषि पेसामा धैर्य र लगनशीलता अनिवार्य रहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको उनले सुनाए । अन्य उद्योगभन्दा कृषि जटिल र झन्झटिलो भएकाले सम्बन्धित निकायले वार्षिक बिमामा सहयोग पु¥याउनु पर्ने व्यवसायीको माग छ । कृषि पेसामा लाग्नुभन्दा पहिले सफल र असफल हेरेर मात्र लगानी गर्न उनले सुझाव दिए । अनुसन्धान केन्द्रसमेत भएकोले कामदारले कामसँगै ज्ञान पनि हासिल गर्ने उनले बताए । कृषि ज्ञान लिन इच्छुकलाई ज्ञान प्रदान गरिने उनले जानकारी दिए । खेतीमा जङ्गली हात्ती र बाँदरका कारणसमेत हैरानी खेप्दै आइरहेको उनले सुनाए । बढी काम मेसिनरी औजारबाट र कामदारलाई सुरक्षित सामग्री उपलब्ध गराएको उनको भनाइ छ । साबिक चन्द्रगढी गाविस–१ हाल भद्रपुर–१० कलवलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा ९४ बिघा जमिन रहेको छ । जसमध्ये ४९ बिघा खेतीयोग्य जमिन छ भने बाँकी वनजङ्गल, कार्यालय भवनहरू रहेका छन् ।