एक सामाजिक सञ्जाल सर्वेक्षणमा व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईं अत्यधिक रुचाइएका पात्रका रुपमा अगाडि आएका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन शाह, हर्क सम्पाङ र गोपी हमालको नाममा सञ्चालित ‘स्वतन्त्र नागरिक सर्वेक्षण सञ्जाल’ले गरेको सर्वेक्षणमा देश र जनताका पक्षमा सबैभन्दा बढी आवाज उठाउने हालको सन्दर्भमा देश, राष्ट्र, राष्ट्रियता जनता र आम नागरिकको हितमा बोल्ने को–को हुन् ? भनेर प्रश्न सोधिएको थियो । सो प्रश्नको उत्तरमा अभियान्ता दुर्गा प्रसाईंलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सबैभन्दा बढी मत दिएका छन् ।
सर्वेक्षणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापित रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादवभन्दा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जनताले धेरै रुचाएका छन् ।
सामाजिक सञ्जालले गरेको उक्त सर्वेक्षणमा प्रसाईलाई ६३ प्रतिशत आमनागरिकले जनताका जनआवाज बोल्ने महाअभियान्ताका रुपमा चयन गरेका छन् ।
प्रसाई पछाडि रास्वपा सभापति लामिछानेलाई जनताले रुचाएका छन् । उनलाई १३ प्रतिशतले रुचाएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत १३ प्रतिशत नागरिकले रुचाएका छन् ।
यस्तै एमाले अध्यक्ष ओलीलाई ६ प्रतिशत, प्रधानमन्त्री प्रचण्डलाई ४ प्रतिशत, कांग्रेस सभापति देउवालाई १ प्रतिशत र जसपा अध्यक्ष यादवसमेत सो सूचीमा छन् ।
सामाजिक सञ्जाल फेसबुक पेजमार्फत गरिएको सर्वेक्षणमा विभिन्न शहरका ५ हजारभन्दा बढी आमनागरिकलाई सहभागी गराइएको थियो । यो सर्वेक्षणमा व्यापारी, विभिन्न क्षेत्रका विज्ञ, विश्लेषक, युवा र विद्यार्थीले सर्वेक्षणमा नेता छनोट गरेका थिए ।
दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज छुट तथा मिनाह गराउने प्रतिबद्धतासहित देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन् । उनले प्रसाईले केही नेता र व्यापारीकै कारण देशको अर्थतन्त्र डुबेको आरोप लगाउँदै आएका छन् ।
उनले आफ्नो वक्तव्यमा भनेका छन्, ‘५५ जना व्यापारी र १० जना नेता पार्टनर भएर सर्वत्र हालिमुहाली गरे । बैंक पनि यिनैका हातमा, लघुवित्त पनि यिनैका हातमा, सहकारी–इन्स्योरेन्स, रक्सी, गाडी सबै उनीहरुकै । त्यसले गर्दा मान्छे झुण्डिएर मर्न थालेको छन् ।’
उनले आर्थिक तथा सामाजिक समस्याको मूल जरो भ्रष्टाचार भएको बताउँदै आएका छन् ।