हरितालिका तिजका अवसरमा धरानस्थित सुनौलो समूहले आमा समूहमा संरक्षित वयोवृद्ध आमाहरुलाई सम्मान गरेको छ ।
धरान १५ नमूना श्रुतिमार्ग टोलमा रहेको सुनौलो बाल संरक्षण आमा समूहले टोलका वयोवृद्ध आमाहरुलाई सम्मान गर्दै हरितालिका तिज मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाकमान राईले बहुभाषिक, बहुसांस्कृतिक बहुधार्मिक र बहुजाति बसोबास गर्ने देशमा चाडपर्वहरुलाई अमूल्य निधिका रुपमा ग्रहण गर्नुपर्ने र अनुभवका खानी वयोवृद्ध आमाहरुलाई समाजको सम्पत्तिका रुपमा ग्रहण गर्नुपर्ने बताए ।
उनले भर्खरै नेवाः समूदायको लाखे पर्व उत्साहका रुपमा सम्पन्न भएको र हरितालिका तिज पनि यही चोकमा मनाउन तर्खर गरेको बताए । उनले उँधौली–उँभौलीमा साकेला, गुरुङ, तामाङको लोसार यही आँगनमा मनाएको स्मरण गरे । उनले आपसी सद्भावका कारण धरानको सुनौलो समूह साँच्चिकै सुनौलो रहेको बताए ।
‘संसारका अमूल्य ईश्वर आमा हुन्, आमाहरुलाई सम्मान गर्दै तिज कार्यक्रम आयोजना गरिएकामा आयोजकलाई धन्यवाद दिन्छु ।’ प्रमुख अतिथि राईले भने ।
कार्यक्रममा बोल्दै स्थानीय शिक्षासेवी लोकराज निरौलाले आमाहरुको सम्मानसहित मनाइएको तिज सह्रानीय भएको बताए । पर्वका बाहानामा केही विकृति मौलाएकाले समाज टोलले त्यस्ता विसंगतिलाई आश्रय दिन नहुने विचार राखे । उनले आमाहरुको सम्मानले सकारात्मक सन्देश दिएको बताए ।
हरितालिका तिज मनाउन टोलका दिदी–बहिनीले आफैं आर्थिक व्यस्थापन गरेका थिए । स्थानीय डाकमान राई र प्रेम कुमारी राईले नगद र जिन्सी सामग्री प्रदान गरे ।
सो अवसरमा सुनौलो आमा समूहले टोलका आमाहरु चन्द्रमाया राई, छत्रमाया राई, जानुका गुरुङ, हेमाकुमारी परियार, रत्नकुमारी श्रेष्ठ, इन्द्रदेवी राई, टीकादेवी राई, हर्कमाया राई, दुर्गादेवी भुजेल, लक्ष्मी तामाङ, हर्कमाया परियार, अगममोती राई, खगेश्वरी देवान, राममाया राई र टङ्कमाया बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आमाहरुलाई खानाका परिकार खुवाएर नाचगान गर्दै तिज मनाइएको थियो ।
कार्यक्रमका सुनौलो बाल संरक्षण आमा समूहकी अध्यक्ष दिलकुमारी राई, गृहश्रमिक महिला तथा सामुदायिक सुरक्षा जालोका अध्यक्ष प्रेमकुमारी राई, टिएलओका सल्लाहकार डम्बरबहादुर गुरुङसहित स्थानीय सरिता श्रेष्ठ, डम्बर कार्की, तेजेन्द्र राई, चामुसिंह राई, पत्रकार रोहित कुलुङ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव चम्पा श्रेष्ठले गरेकी थिइन् ।