इनरुवा । स्थानीय पाठ्यक्रमका लागि इनरुवा नगरपालिकाले छापेको पाठ्यपुस्तकप्रति असन्तुष्टि पोख्दै इनरुवामा केही प्रति जलाइएको छ ।

नगरपालिकाले तयार पारेको पाठ्यक्रममा धार्मिक विभेद गरेको भन्दै हिन्दु सनातन पक्षधर बजरङ दलले जलाएको हो । नाराबाजीसहित नगरपालिका पुगेको बजरङ दल आबद्ध युवा तथा समर्थकको भीडले साङ्केतिक विरोधस्वरूप कार्यालय हाताभित्र पुस्तक जलाएको छ । सिभिल मिडिया एन्ड रिसर्च सेन्टरले तयार पारेको पालिका पाठ्यक्रम हचुवाको भरमा बनाएको बजरङ दलको ठहर छ । नगरप्रमुख केदार भण्डारीलाई ज्ञापन–पत्र बुझाउँदै बजरङ दल नगर तथा जिल्ला कार्य समितिले पालिका पाठ्यक्रम अविलम्ब सच्याउनुपर्ने माग राखेको छ ।

ज्ञापन–पत्रमा नगरपालिकाले छापेको पाठ्यक्रममा सबै जातजाति, धर्म र समुदायलाई उचित स्थान दिनुपर्नेमा धार्मिक र सांस्कृतिक विभेद गरिएको उल्लेख छ । बजरङ दलका नगर मन्त्री त्रिलोकनाथ गुप्ता र जिल्ला अध्यक्ष विजय सोनीले संयुक्तरूपमा बुझाएको ज्ञापन–पत्रमा स्थानीय पाठ्यपुस्तकमा इनरुवाको इतिहास, ऐतिहासिक महŒव, सम्पदा र पहिचानजस्ता विषयवस्तुलाई नजरअन्दाज गरिएको उल्लेख छ ।

पाठ्यक्रममा केही सीमित विषयलाई प्राथमिकता दिइँदा हिन्दु समुदायको आस्था र महŒवमाथि कुठाराघात भएको बजरङ दलको ठहर छ । उसले सबै जातजाति र धर्मको विषय समानरूपले समेटिनु पर्ने भन्दै पालिका पाठ्यक्रममा भएको गल्ती अविलम्ब सच्याउनु पर्ने माग राखेको छ ।

ज्ञापन–पत्र बुझ्दै नगरप्रमुख केदार भण्डारीले पाठ्यक्रममा समावेश विषय छुट भएको भए सच्याइने प्रतिबद्धता जनाए । उनले के कति विषय छुटेका हुन् र समावेश गरिनु पर्ने के के छन् भन्नेबारे समिति बनाएर सुझाव मागिने बताए । प्रमुख भण्डारीले आफूभन्दा अघिल्लो प्रमुखको पालामै उक्त विषयको ठेक्का लागेर काम भएकाले तत्कालीन समयमा पर्याप्त मात्रामा छलफल नभएको भन्ने विषय सुन्नमा आएको बताए ।

सो विषयमा अध्ययन गरी पाठ्यक्रम लागू गरिने उनले बताए । जसबारे शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले समेत संशोधनका विषय समेटेर अघि बढ्ने बताए । बजरङ दलले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा मुस्लिम समुदायका विषयवस्तुलाई प्राथमिकता दिइँदा हिन्दु धर्म उपेक्षामा परेको भन्दै दलले असन्तुष्टि पोखेको छ ।