हजारौँ पाइलाको सुरुवात एक पाइलाबाट सुरु हुन्छ भनेझैँ ब्लाष्ट अनेकौ आरोह अवरोह पार गर्दै २९औँ वर्षमा पाइला टेकेको छ । यी वर्षहरुमा ब्लाष्टले अनेकौ खालका हण्डर ठक्कर खाँदै यो अवस्थामा आइपुगेको हो । तर, यतिका वर्षमा यसले धरान हकमा, पूर्वाञ्चलको हकमा, देशको हकमा के भूमिका खेल्यो त ? यसको समीक्षा गर्ने बेला आएको छ । ब्लाष्टले शिक्षा, स्वास्थ्य, खेलकुद, साहित्य, कला, राजनीति, अपराध, यौन जस्ता विषयमा अहम् भूमिका खेल्न सक्यो कि सकेन ? यो बहसको विषय हो ।
अझ पत्रकारितामा उठ्दै आएको विकेन्द्रीकरणको मुद्दामा ब्लाष्टले कस्तो भूमिका खेल्यो त ? यस्ता विषयमा चर्चा गर्न उपयुक्त होला । पक्कै पनि नेपालको पत्रकारितामा पूर्वाञ्चलबाट ब्लाष्टको भूमिका अहम् नै छ । प्रजातन्त्रको पुनर्बहालीपश्चात् मिडिया उद्योगको रुपमा परिणत भएको स्थितिमा ब्लाष्ट पनि उद्योगको रुपमा परिणत भएकै हो । त्यसका लागि केही वर्षहरु पक्कै पनि लागेकै हुन् । तर, आजको स्थितिमा देशभरका मिडियालाई विश्लेषण, सश्लेषण गर्ने हो भने ब्लाष्टले पनि आफूलाई एउटा उद्योगको रुपमा स्थापित गरेकै हो र नै आजको अवस्थामा आइपुगेको छ । २८ वर्ष चानचुने समय होइन । एउटा व्यक्ति संसारलाई फन्को मार्ने हो भने २८ वर्षमा हजारौँ पटक फन्का मार्ला ।
ब्लाष्टले पनि पाठकको मनमा त्यसरी नै फन्को मारेको छ । यसले स्थापित गरेको मुद्दाहरुलाई किनारा लगाउन सफल भएकै कारण जनताको ढुकढुकीमा बस्न सफल छ । यसको पछाडि आम पाठक, विज्ञापनदाताको साथ र सहयोग अतुलनीय छ ।
ब्लाष्टले पूर्वाञ्चलबासीलाई पठन संस्कृतिमा महत्त्पूर्ण भूमिका खेल्न सफल भएको छ भन्दा अनर्थ नलाग्ला । आज कसैले कुनै पनि पत्रपत्रिका बोकेर हिँड्दा नै मात्र कुन ब्लाष्ट हो भन्ने प्रश्नले पनि ब्लाष्टको गरिमा र ओजलाई स्पष्ट पार्दछ । ब्लाष्ट पाठकको मनमा कसरी स्थापित छ भन्ने कुरा त्यसैबाट पनि प्रतीत हुन्छ । ब्लाष्टले उठाएका मुद्दा, विषय र बहसले पक्कै पनि जनतालाई एउटा विचार निर्माण गर्ने बनाएको छ । सीमित सञ्चार भएको अवस्थामा ब्लाष्ट पूर्वको सञ्चारको ज्योति बनेर उदाएको पक्कै हो ।
तर, यो २८ वर्षे जीवनमा सञ्चारमा व्यापक परिवर्तन भएको छ । २४ घण्टा कुर्नुपर्ने समाचारहरु अहिले पल–पलमा आउने भएको छ । सञ्चार प्रविधिमा भएको विकासले छापा माध्यमलाई एक प्रकारको धक्का दिएको छ । जब सन् १९९० मा इन्टरनेटको विकास भयो । त्यसपश्चात् पश्चिमा मिडियाहरु पनि बिस्तारै खुम्चिँदै गए । अमेरिका तथा युरोपका छापा माध्यमहरुमा गिरावट आउन थालेको विभिन्न अनुसन्धानहरुले देखाएकै छन् । आजको अवस्थामा त झन् कृत्रिम बौद्धिकता (एआई) को विकासले मिडिया मात्रै हैन, पत्रकारहरु नै बेरोजगार हुने हुन् कि भन्ने सम्भावना बढ्दो छ ।
नेपालमा छापिने ब्रोडसिटहरु आज दुब्लाउँदै गएका छन् । यस्तो परिस्थितिमा ब्लाष्ट मात्रै मोटाउने भन्ने पक्कै पनि हुँदैन तर पनि ब्लाष्टले आफ्ना मुद्दाहरुलाई अझ बुलन्द रुपमा अगाडि लाने प्रण २९औँ वर्ष प्रवेशसँगै गर्दै छौँ । अब हामी मुद्दामा केन्द्रित हुनेछौँ । हिजो हामीले अपनाएको रणनीति अबका दिनमा परिवर्तन गर्नुपर्ने भएको छ । किनकि पत्रकारिताको प्रवृत्तिहरु परिवर्तन भएको सबैलाई विदितै छ ।
हामी हाम्रो उद्देश्य, लक्ष्यबाट कति पनि बिचलित भएका छैनौँ । हिजो हामीले उठाएका मुद्दाहरुलाई अब फरक कोणबाट व्याख्या गर्ने, विश्लेषण गर्ने बेला भएको छ । ब्रेकिङ न्यूजको जमाना रहेन अब । सामाजिक सञ्जालहरुले यस्तो मान्यतालाई पूर्णरुपमा ध्वस्त बनाइसकेको छ । आम पाठकले सामाजिक सञ्जाल हेरेर आफ्नो धारणा बनाउने अवस्थामा पुगेका छन् । जहाँ सत्यतथ्य र वस्तुनिष्ठ समाचारभन्दा पनि बढी गलत, भ्रामक कुराको बाढी हुने गरेको छ । यसकारण पनि मिडियाको प्रभावकारिता अझै मरेको छैन ।
जिम्मेवारी चाहिँ थप बढेको छ । वस्तुनिष्ठ र सत्यतथ्य समाचार पस्किने र पाठकहरुलाई सही सूचना पु¥याउने दायित्व बढेको छ । अहिले के सूचना हो र के समाचार हो भन्ने छुट्टिने र छुट्टयाउन सक्ने अवस्था बनाउन छापा मिडियाहरुको भूमिका अहम् हुँदै गएको छ । हाम्रा जिम्मेवारीहरु अब झनै फरक ढङ्गबाट सुरु गर्नुपर्ने भएको छ । यो जिम्मेवारी ब्लाष्टले निभाउनु पर्ने देखिएको छ । अनलाइन पत्रिकाको बाढी आएको छ तर नागरिकले विश्वास गरिहाल्ने वातावरण अझै बन्न सकेको छैन । एकै प्रकृतिको समाचारहरु सबैतिर आउने कारणले पनि कुन अनलाइन विश्वसनीय हो कुन होइन भन्ने छुट्टयाउन गाह्रो छ । यस्ता तमाम विषयलाई चिर्न ब्लाष्टको भूमिका अपरिहार्य देखिँदै गएको छ । त्यो यात्रामा हामी अनवरत अगाडि बढिरहेका छौँ ।