२०२४ साल चैत १७ गते मोरङ बोराबाधमा जन्मिएका किशोर राई ७ वर्षमा झापा गए । बाल्यकालदेखि नै फुटबल खेल्न रुचाउने राईले १४ वर्षको उमेरमा स्वस्तीका कपबाट व्यावसायिक फुटबल खेल्न सुरु गरे । २०४२ सालमा व्यावसायिक फुटबल खेल्न थाले । २०४३ मा नेपालगञ्जमा नर ट्रफी खेले । २०४४ मा वीरगञ्जमा महेन्द्र गोल्डकप खेले । २०४५ सालमा हेटौंडामा नर गोल्डकप १० नम्बरको जर्सीमा खेले । युथ टिमबाट थाइल्याण्डमा समेत खेल्न गए । २०४६ सालमा आरसिटीबाट  राष्ट्रिय लिग खेले । राष्ट्रिय सुपर लिग च्याम्पियनसिप बने । २०४६ मा आरसिटीबाट सिक्किम गाण्टोकमा गभर्नर्स कप खेल्न गए । सिलिगुडीमा ५ वर्ष सिलिगुडी लिगमा क्याप्टेनको भूमिकामा रहेर व्यावसायिक फुटबल खेले ।  २०४५ देखि २०४९ सालसम्म विभागीय पुलिस टिममा रहेर खेले । त्यसपछि थ्री स्टार क्लबबाट पनि खेले । आरएनएसीबाट गणेश थापासँगै रहेर पनि खेले । फुटबल खेलसँगै नेतृत्वकर्ताको भूमिकामा रहन चाहने राई २०४१ सालमा छिमेकी स्पोटर््स क्लबको अध्यक्ष  बनेका थिए । २०५१ सालमा मित्र मिलन क्लबको संस्थागत अध्यक्ष बने । २०५५ सालदेखि धरान फुटबल क्लबको नेतृत्व गर्दै आएका छन् । २०४५ सालमा फुटबल सङ्घको सुनसरी जिल्ला सचिव बनेका राई २०५६ सालमा केन्द्रीय सदस्य बने । त्यसको २ वर्षपछि २०५८ सालमा केन्द्रीय उपाध्यक्ष बने । ४ कार्यकाल एन्फाको उपाध्यक्षमा बसेर काम गरेका राई २०५८ सालमा राष्ट्रिय खेलकुद परिषद्कोको कर्मचारी पनि बने । एन्फाको २ कार्यकाल मानार्थ वरिष्ठ उपाध्यक्ष बनेका राई हाल फुटबल सङ्घ कोशी प्रदेश समितिको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष राईसँग फुटबलको समस्या, अवस्था र विकास बारेमा आधारित भई ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः



अखिल नेपाल फुटबल सङ्घको विवादलाई कसरी लिनुभएको छ ?
    –फुटबलको विकासमा केन्द्रितभन्दा पनि व्यक्तिगत स्वार्थसिद्ध गराउन चाहने केही साथीहरू हाबी भइरहेका छन् । त्यसकै कारणले विवाद उत्पन्न भएको भन्ने लाग्छ ।

विवादको निरूपण कसरी होला ?
    –संवादबाट नै विवाद टुङ्ग्याउनुपर्छ । समग्र सदस्यहरू र  जिल्ला क्लबहरूले बुझ्न जरुरी छ । काठमाडौँका साथीहरूले नेतृत्वमा आउनका लागि अहिलेदेखि नै ग्रुप बनाइरहेका छन् । गणेश थापा दाइसँग ‘चेन्ज एन्फा’ को कुरा गरिरहँदा हामीले पनि ग्रुप बनायौं । तर, त्यो ग्रुप कसैको स्वार्थमा थिएन । को कुन ठाउँ र पदमा बस्ने भन्ने स्वार्थमा थिएन । हामीले सामूहिक नेतृत्वमा फुटबलको विकास, आर्थिक क्षेत्रमा पारदर्शिता गर्नेलगायत सबै किसिमको निःस्वार्थ रूपमा सेवा गर्ने अवसर हासिल ग¥यौँ । फुटबलको अहितमा काम गर्ने व्यक्तिलाई जिम्मेवारीबाट पन्छाउने बेला आएको छ । पहिलो चरणमा विवादको निरूपण वार्ता नै हो । दोस्रो चरणमा जिल्लामा कन्भिन्स गराउँछौँ, । क्लबका सार्थीहरूलाई पनि कन्भिन्स गराउँछौँ । उहाँहरूले पनि हामीलाई कन्भिन्स गराउनुहुन्छ होला । कतिपय साथीहरूले जिल्लाका क्लब र राष्ट्रिय क्लबलाई जुधाएर एन्फामा हालीमुहाली गर्ने प्रवृत्ति बढेको छ । अध्यक्ष आन्तरिक छलफल र साधारणा सभाले टुङ्गोमा पु¥याउने कुरा छ ।

एन्फा कनेक्टका बारेमा बताइदिनुहोस् न ?
    –विश्व फुटबलको व्यावसायिकतामा शिखर प्रगति भइरहेको छ । नेपालको पनि फुटबलले विकास गर्ने हो भने फिफा कनेक्टबाट देशभरिका क्लबहरू र मेचीदेखि महाकाली अनि हिमाल, पहाड, तराई सबै देशैभरिका क्लबहरूलाई फिफामा जोड्ने हो । लाइसेन्स प्राप्त गर्नका लागि हामीले काठमाडौँको लिगलाई प्रभावकारी बनाउन, लगानीमा पनि जोड दिने हो । सहिद स्मारक लिगलाई विशेष र बलियो बनाउन ४८ जिल्ला मात्र होइन, ७७ जिल्लालाई नै फुटबल सङ्घमा आबद्ध गर्नुपर्छ । अरू जिल्लामा पनि फुटबलको गतिविधि छ नि  । तर, जोड्न सकिरहेका छैनौं । ती जिल्ला बञ्चित भएका छन् । उनीहरूलाई आबद्ध गराउने जिम्मेवारी हाम्रो हो । देशैभरिका फिफा कनेक्टमा जोडिएर फुटबलमा विकास गर्ने औपचारिक कार्यक्रम कोशी प्रदेशबाट सुरु गरेका छौँ । अब चाँडै नेै प्रदेशमा कार्यक्रम हुने भएको छ । एउटा सुनसरीको राष्ट्रिय लिग खेल्न जाने भएपछि खेल मैदान, युवा टिम एकेडेमीमा राख्दा लाइन्सेन्स प्राप्त गर्ने मापदण्ड पूरा हुन्छ । युवा टिमले क्लबलाई ‘ए’ डिभिजन टिम तयार गर्न सहज हुन्छ । एकेडेमीेले पनि नयाँ खेलाडी उत्पादन गरेर क्लब र राष्ट्रलाई दिने भयो । आफ्नो खेलमैदान भएपछि कार्यक्रम गर्न सक्ने भए । विश्व फुटबलको कसरी विकास भइरहेको छ भन्ने जानकारी हुन्छ । फिफा समन्वयकारी भूमिका गर्ने माध्यम भएको छ । फिफाको सबै कार्यक्रम के छ  त भन्नेमा अनभिज्ञ छौँ । अब त्यो कार्यक्रमले क्लबहरू दर्ता मात्र भएर बस्न पाउने स्थिति छैन । फिफा कनेक्ट हुनलाई प्राविधिक मान्छे राख्छ । प्राविधिकहरू खरिद गर्नुपर्दछ । लिगहरू समावेश हुनुपर्छ । खेलाडी दर्ता गराउनु पर्ने हुन्छ । दैनिक फुटबल गतिविधि गर्नका लागि फिफा कनेक्टले वैधानिक अधिकार क्लबहरूलाई दिएको छ ।

कोशी प्रदेश फुटबल सङ्घको अध्यक्षमा निर्वाचित भएपछि केके गर्नुभयो ?
    –अध्यक्षको जिम्मेवारी लिएको दुई महिना मात्र भएको छ । एन्फाका निवर्तमान अध्यक्ष कर्मछिरिङ शेर्पाले चलाउँदा आर्थिक पारदर्शिता वैधानिक भएको थिएन । पङ्कजविक्रम नेम्बाङको नेतृत्व आएपछि आर्थिक कुराहरूमा फिफाले कन्ट्रोल फण्डिङको व्यवस्था गरेको  छ । त्यो भनेको आर्थिक बेण्ड जस्तो हो । सिधै रकम निकासा हुँदैन । फुटबलका गतिविधि गर्न अप्ठ्यारो परेको छ । आउने बित्तिकै सबैसँग छलफल गरेको छु । कोशी प्रदेशमा कार्यालय स्थापना गरेर विभिन्न कार्यक्रम गर्न लागिरहेका छौँ । रेफ्रीहरूको प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ । ठूलो मात्रामा रेफ्री बन्ने इच्छा देखिएको छ । हामीले ३० वटा कोटाको कुरा गरेका थियौँ तर १ सय क्रस भएको छ । धान्न नसक्ने अवस्था छ । कोशी प्रदेशको कार्यालयमा गर्दैछौँ । विभिन्न कार्यक्रम तय गरेर अघि बढेका छौँ । विद्यालय तह र कलेज तहका कार्यक्रम भइरहेका छन् । जिल्ला लिगहरू १४ वटै जिल्लामा गर्नेछौँ । प्रादेशिक प्रेसिडेण्ट लिग गर्दैछौँ । अण्डर १५ स्तरीय प्रदेशस्तरको गर्दैछौँ । युथ प्रोग्राम गरिरहेका छौँ । कोचहरूको तालिम पनि गर्दैछौँ । कुल ३ करोड ९६ लाख ९० हजारको कार्यक्रम गर्दैछौँ ।  हामीले धेरै काम गरेका छौँ । एक वर्षमा नतिजा दिन्छौँ ।

धेरै कार्यक्रम तय गर्नुभएको छ, बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
    –कार्यक्रम सम्पन्न गर्नका लागि बजेट अपरिहार्य हो । त्यसका लागि मसहित हाम्रो समूह स्रोत जुटाउन लागेको छ । पालिका, प्रदेश सरकार र केन्द्रीय सरकारसम्म समन्वय गरिरहेका छौँ ।

स्थानीय सरकारसँग असन्तुष्टि पनि जनाउनुभएको थियो, अहिले कस्तो छ ?
    –धरान उपमहानगरलाई मिनी ब्राजिल भन्ने गरिएको छ । एक समय थियो पनि । हामीले नै फुटबलमा ठूला लिग गर्दै आयौं । धेरै ठाउँमा फुटबल लिग गराउनु पर्छ भनेर प्रोतसाहन ग¥योैं । तर, हाम्रो अन्तर्राष्ट्रियस्तरको लिग गराउने नगरमा ९ लाख बजेट विनियोजन गरेको छ । त्यही ९ लाखको पनि दलीयरूपमा आलोचना गरेपछि विवादजस्तो देखिएको हो । हामीले समग्र फुटबलका लागि काम गर्छौं भन्दा बजेट व्यवस्थापन नभएकाले समस्या भएको हो । सरकारको नेतृत्वकर्ताले खेलकुद क्षेत्रका व्यक्तिहरूको अनुपस्थितिमा नीति तथा कार्यक्रम बनाउँछन् । त्यसो गर्नु हुँदैन । फुटबल व्यावसायिक बनाएर विभिन्न रोजगारमुखी हुने बजेट व्यवस्थापन गरेका छैनन् । यो दुःखद् कुरा हो । राजनीतिक दलको मिलेमतोमा एक–एक वटा कार्यक्रम बाँडेर खेलकुदको राम्रो गन्तव्यमा पुग्न सकिँदैन । अब खेलकुद भनेको नामका लागि मात्रै होइन, खेलकुदजगत्बाट पूर्ण व्यावसायिकी र रोजगारीमूलक खेलकुदको विधि तयार गर्नुपर्छ । तीनै तहका सरकारमा बजेट निर्माण गर्दा सरोकारवाला पक्षसँग छलफल गरिदैन । कार्यक्रममुखी बजेट मात्रै होइन, भौतिक पूर्वाधारमा पनि बजेट व्यवस्थापन गर्नुपर्छ । धरानलाई मिनी ब्राजिल भन्छौँ तर, धरानको ग्राउण्डमा फर्ड लाइट छैन । हामीले सिकाएका सहरमा धेरै राम्रा पूर्वाधार निर्माण भए तर, धरानमा हुन सकेन । हाम्रा ठूला क्लबहरूलाई सिटी लिगको मध्यमबाट बलियो बनाउने लक्ष्य छ । ग्रास रुट प्रोग्राम प्रत्येक स्थानीय तहमा गर्न प्रचार गरेका छौँ । जिल्लाका क्लबलाई पालिकाले बजेट विनियोजन गर्न अनुरोध गरेका छौँ । फुटबलको विकासका लागि वर्कसप कार्यक्रम गर्ने भनिरहेका छौँ । शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेश सरकारले राम्रो कार्यक्रम ल्याएको थियो । मोफसलका क्लब र जिल्लाका पछाडि परेका क्लबहरुलाई ‘ए’ डिभिजन लेभलमा पु¥याउँछ भन्ने लागेको थियो । तर, त्यसपछिका सरकारमा निरन्तरता पाएन । अहिलेको सरकारले पनि खेलकुदमा बजेट व्यवस्थापन गर्नुपर्यो ।

धरानमा ग्रास रुट कार्यक्रम चलिरहेको छ, उपलब्धि कस्तो छ नि ?
    –निवर्तमान मेयर तिलक राईले सुरु गरेको ग्रास रुट कार्यक्रम चलिरहेको छ । त्यसलाई अझ परिमार्जित गर्नुपर्नेछ । कार्यक्रमको स्तरलाई बढाउनु पर्ने, जनशक्ति अभाव छ । हामीले रेफ्री स्वयम्सेवकको रूपमा खटाइरहेका छौँ । कुनै आर्थिक सहयोग छैन । कहिलेसम्म स्वयम्सेवक भएर काम गर्न सक्छ ? त्यसैले भनेजस्तो बजेट विनियोजन गरेको छैन । हामी बाटो दिन्छौँ । ग्रास रुट कार्यक्रमले नतिजा दिन थालेपछि मेयर पनि सफल हुने हो  । तर, नगरले लगानी गर्न नै चाहँदैन । ग्रास रुट कार्यक्रम मोरङले पनि गराइरहेको छ । झापामा पनि भइरहेको छ । अहिलेसम्म पहाडी जिल्लामा पुग्न सकिरहेका छैनौँ । अब हामी पहाडी जिल्लामा गर्ने तयारी गरिरहेका छौँ ।  ग्रास रुटको प्राविधकि सहयोग प्रदेशले गर्ने प्रतिबद्धता गरेको छु । यो वर्षमा कोशी फुटबल सङ्घ उत्कृष्ट विकास वर्षको रूपमा घोषणा गर्छौं । यो वर्षलाई सफल बनाउँछौँ । प्रमुख एजेण्डा भनेको जिल्ला तहका लिगको तयारी गर्ने हो । ‘फुटबल इज विजनेस’ बनाउँछौँ । फुटबलको विकास आर्थिक उन्नतिले गर्दा भएको हो । व्यवसायी बन्न खोज्दा पैसा खायो भन्छ । मेयर, उपमेयर, राष्ट्रपति, प्रधानन्त्री राजनीतिज्ञले तलब खान्छन् । फुटबलको विकासमा लागेकाले भत्ता लिँदा पैसा खायो भन्छन् । फुटबलको विकासमा लाग्नेले भत्ता खान नपाउने हो भने कसरी काम गर्छ । त्यसैले ‘स्पोर्ट्स इज विजनेस’ भनेर जानुपर्छ । पालिकाका खेलकुद समितिले विधान बनाउन सकेका छैनन् । यस्तो तरिकाले फुटबल र खेलकुदको विकास सम्भव हुँदैन ।

धरान फुटबल क्लबको नेतृत्व किन हस्तान्तरण गर्न लाग्नुभएको हो ?
    –मैले २५ वर्ष नेतृत्व गरेँ । देशकै ठूलो क्लब बनाउनका लागि नयाँ साथीहरूलाई हस्तान्तरण गर्न लागेको हो । चाँडै म नेतृत्व हस्तान्तरण गर्दैछु । म अभिभावकको रूपमा रहनेछु । धरान फुटबल क्लबलाई धरानवासीको सहयोग छ । धरान फुटबल क्लबलाई सहयोग मात्रै होइन, सकारात्मक सुझाव दिनुहोस्, आलोचना पनि गर्नुहोस् । जसले हामीलाई अझ प्रभावकारी ढङ्गले अघि बढ्न सहज हुन्छ । कसैलाई शङ्का लाग्छ भने हामीसँग भएका कागजात हेर्न पनि सक्नुहुनेछ । ३ वटा राष्ट्रमा बूढासुब्बा गोल्डकप हुने गरेको छ । यस्तो अन्त कुनै ठाउँमा हुँदैन । यति ठूलो काम गर्दा पनि नगरले मूल्याङ्कन गरिरहेको छैन । हामी पैसा कमाउन आएको होइन, फुटबलको विकास गर्न आएका हौँ । कस्ता कस्ता ठूला क्लबले टुर्नामेण्ट गर्न सकिरहेका छैनन् । नियमित कार्यक्रम गर्न सकेको छैन । कार्यालय सञ्चालन गर्न सकेको छैन । हामीले कार्यालय खोलेर सङ्क्रमणकालीन अवस्थामा पनि कार्यक्रम गरिरहेका छौँ ।

बूढासुब्बा गोल्डकप के हुन्छ ?
    –नयाँ समितिबाट नै अगािड बढ्छ । क्लबको संरक्षक भएकाले अभिभावकीय भूमिकामा रहन्छु । अन्य वातावरण निर्माण गर्ने कार्यमा सहयोग गर्ने नै छु । गोल्डकप सञ्चालन गर्न चुनौती छ । हाम्रो सबैसँगको सहकार्य र समन्वयमा सञ्चालन हुन्छ ।

फुटबलको विकासका लागि राज्यले के गर्नुपर्ला ?
    –खेलकुदको विकासका लागि राज्यले लगानी गर्नुपर्दछ । आन्तरिक द्वन्द्वले गर्दा पनि समस्या भएको छ । नेपालमा फुटबलको राम्रो सम्भावना हुँदाहुँदै पनि बिग्रने अवस्थामा छ । क्लब र जिल्लाका साथीहरूले साइजमा राख्नुपर्ने अवस्था छ । जिल्ला पनि आशामुखी हुनु हुँदैन, आत्मनिर्भर हुनुपर्छ । राज्यले पनि लगानी बढाउनुपर्छ । नेपाल र नेपालीले सहयोग गर्नुपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
    –हामीसँग खास बजेट छैन । फिफा र एएफसीबाट आउने नियमित बजेटबाट चल्ने हो । बजेटको अभावले कार्यक्रम समयमा गर्न नसक्ने, बोलेका कुरा पूरा गर्न नसक्ने समस्या देखिएका छन् । जिल्लालाई वार्षिक बजेट घोषणा गर्छौं तर, दिन सकेनौँ । यसका लागि हामीले आन्तरिक बजेट बढाउनु पर्छ । एन्फाका सबै साथीहरूले आन्तरिक कुरा मिलाएर अघि बढ्नुपर्छ । नेपाली फुटबलको विकासमा लाग्नुपर्छ । तीनै तहका सरकारले फुटबलको विकासमा सहयोग गर्नु पर्छ । धरानमा एन्फाको कोशी प्रदेश कार्यालय राखेका छौँ । जसले गर्दा देशभरका खेलाडी आएका छन् । तर, नगरपालिकाले कुनै सहयोग गरेको छैन । नगरबाट बजेटमा पुनर्विचार गरियोस् । धरान नगरको कुरा बाहिर गर्दा राम्रो हुँदैन ।

ब्लाष्ट दैनिक २९ वर्ष प्रवेश गर्दैछ, के भन्नुुहुन्छ ?
    –ब्लाष्टले अहिलेसम्म जनहितको पक्षमा उभिएर सफल काम गरेको छ र मुलुकको विकासका लागि योगदान पनि गरेको छ । अहिले सङ्क्रमणकालीन अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ । राजनीतिक र सामाजिक विकृति, विसङ्गतिविरुद्ध सचेतना प्रदान गर्दै खबरदारी गरिरहेको छ । आम नागरिकलाई न्याय दिने,  सचेत गराउने कुरामा लागोस् भन्न चाहन्छु । ब्लाष्ट मेरो पनि हो भन्दै हाम्रो पनि हो भनेर ग्रहण गर्न सबैलाई आग्रह गर्छु । मोफसलमा ब्लाष्ट १ नं. पत्रिका हो । २९ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्णमा बधाई ज्ञापन गर्दै अझ प्रगतिको कामना गर्दछु ।

चालु आर्थिक वर्षका कार्यक्रमहरू

- जिल्ला र प्रदेशस्तरीय प्याब्सन एन्फा विद्यालय प्रतियोगिता
- हिसान एन्फा कलेजस्तरीय प्रतियोगिता
-  जिल्ला लिग फुटबल प्रतियोगिता
- प्रदेश लिग फुटबल प्रतियोगिता
- प्रादेशिक एन्फा प्रेसिडेन्ट लिग फुटबल
- अन्डर १५ एन्फा एकेडेमी प्रदेशस्तरीय फुटबल
- अन्डर १८ युथ एन्फा प्रदेश क्लबस्तरीय फुटबल
- महिला जिल्ला÷प्रदेश लिग तथा नकआउट
- जिल्ला प्रेसिडेन्ट महिला फुटबल प्रतियोगिता
- प्रदेश प्रेसिडेन्ट महिला फुटबल प्रतियोगिता
- अन्तर्राष्ट्रिय सहभागिताहरू
- एन्फा एकेडेमी मैत्रीपूर्ण प्रतियोगिता, एक्स्पोजर
- प्रदेशस्तरीय ‘सी’ र ‘डी’ कोचिङ लाइसेन्स कोर्ष
- प्रदेशस्तरीय रिफ्रेस कोचिङ कोर्ष ‘ए’, ‘बी’ र ‘डी’
- प्रदेशस्तरीय रेफ्री लाइसेन्स कोचिङ कोर्ष
- फिजियो, म्यानकमिस्नर, म्यानेजर
- प्रदेशभित्रका फुबटलका लेजेण्डहरूलाई सम्मान तथा अभिनन्दन
- उत्कृष्ट महिला तथा पुरुष वर्ष खेलाडी घोषणा तथा पुरस्कार वितरण
- उत्कृष्ट क्लब घोषणा तथा पुरस्कार वितरण
- प्रदेश फुटबल सङ्घ स्थापना दिवस कार्यक्रम