दार्जिलिङको प्रतिष्ठित फुटबल स्पर्धा मानेभन्ज्याङ गोल्डकपको सातौं संस्करणमा धरानस्थित पानवारी फुटबल क्लबले प्रतिस्पर्धा जनाउने भएको छ । 

अक्टोबर २ तारिख आगामी असोज १५ गतेदेखि आयोजना हुने गोल्डकपको उद्घाटन खेलमा वेस्ट बेंगालको बिएसके जलपाइगुरीसँग पानवारीले सामना गर्दैछ । स्थानीय समयअनुसार दिउँसो २ बजे हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी पूरा गरेको पानवारी फुटबल क्लबका उपाध्यक्ष भूपाल राईले जानकारी दिए । 

क्लबका अनुसार ‘सेभेन ए साइड’ प्रतियोगितामा पानवारीका १२ खेलाडीसहित अफिसियलले सहभागिता जनाउने छन् । नेपालका मछिन्द्र, थ्री स्टार, सङ्कटा सातदोबाटोलगायतका टिमबाट खेल खेलिरहेका खेलाडी पानवारीका तर्फबाट मैदानमा उत्रने छन् । 

‘खेलाडी र अफिसियलहरु उच्च आत्मविश्वासका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछौं’, पानवारी फुटबल क्लबका उपाध्यक्ष राईले भने, ‘हाम्रा खेलाडी उच्च फर्ममा छन् । खेलाडी लगभग टुंगो लागिसकेको छ, केही खेलाडीलाई अप्रोच गरिरहेका छौं ।’ 

उपाध्यक्ष राई भारतीय आर्मीमा भएका बेला खेल खेलिरहेको र प्रतियोगितालाई समेत नजिकबाट नियालिरहेकाले आयोजकले आमन्त्रण गरेको बताउँछन् । 

‘ओपेनिङ म्याचमा त्यति कठिन छैन तर, खेल टफ हुनेछ,’ उपाध्यक्ष राईले भने, ‘फाइनलसम्म जान सकिन्छ भन्ने हाम्रो कन्फिडेन्स छ । खेलाडीहरु तयार छन् ।’

पानवारीका तर्फबाट नेपालका लिगहरु खेलेका अनुभवी खेलाडी रहेको उपाध्यक्ष राईले बताए । उनका अनुसार टिमका खेलाडी अहिले पनि दिल्लीमा खेल खेलिरहेका छन् । टिम फर्ममा छ । थ्रीस्टारबाट खेल्दै आएका पूर्ण चेम्जोङको कप्तानीमा पानवारी मैदानमा उत्रने छ । 

१६ टिमले सहभागिता जनाउने मानेभन्ज्याङ गोल्डकपमा नेपालबाट ५ टिमको सहभागिता रहेको छ । पानवारीसँगै श्रीजंग एसपी क्लब भद्रपुर, हिमालयन शेर्पा काठमाडौं, रेडहर्स इलाम र २५ केएफसी पोखरा छन् ।  

प्रतियोगिताको उद्घाटन र समापन खेलमा नेपालबाट कलाकारसमेतको साङ्गीतिक प्रस्तुति रहने आयोजकले उल्लेख गरेको छ । उद्घाटन सत्रमा भोइस किड्सकी प्रतिस्पर्धी इशा राई साथै ओजस्वी गुरुङले प्रस्तुति दिनेछन् भने स्थानीय विद्यालयहरुले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ । समापन सत्रमा गायक सुगम पोख्रेल, अनमोल गुरुङसहित स्थानीय ब्याण्डहरुको प्रस्तुति रहने छ ।  

पानवारीले आगामी १४ गते खेलाडी र अफिसियललाई बिदाइ गर्नेछ ।