धरान मेघा कलेज ललितपुरमा जारी अक्सब्रिज प्लस टु इन्टर कलेज थ्रीबाइथ्री बास्केटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
आजै एक खेल गुमाएको धरान मेघाले एक खेलमा विजय प्राप्त गर्दै उत्कृष्ट १४ मा स्थान बनाएको हो ।
काठमाडौंस्थित नामी कलेजसँग ८–४ अंकको हार बेहोरेको धरान मेघाले काठमाडौंकै ओमेगा कलेजलाई १२–६ अंकले पराजित गरेको थियो ।
सहभागिताका लागि धरान मेघा कलेजले कोशी प्रदेश महिला बास्केटबल खेलाडी आस्था राई र निवा लिम्बूको व्यवस्थापन र प्रशिक्षणमा टिम पठाएको छ । प्रतियोगितामा खेलाडीहरु प्रिन्स राई, डेनिस लिम्बू, पारुहाङ लिम्बू र तोङहाङ लिम्बूले सहभागिता जनाएका छन् ।
सहभागी खेलाडी तथा प्रशिक्षकलाई धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले सफलताको शुभकामनासँगै बिहीबार विदाइ गरेका थिए । प्रतियोगितामा जितहार भन्दा पनि सहभागिता महत्वपूर्ण भएको अध्यक्ष लिम्बूले बताए ।
'अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराई उनीहरुलाई प्रोत्साहन र अवसर प्रदान गर्नु महत्वपूर्ण पक्ष हो ।' अध्यक्ष लिम्बूले भने ।
नेपाल बास्केटबल संघको सहकार्य र अक्सब्रिज कलेज महालक्ष्मीस्थानको आयोजनामा जारी प्रतियोगितामा २२ टिमले सहभागिता जनाएका छन् । पाँचौ संस्करणको यो प्रतियोगितामा उपत्यका बाहिरबाट धरानको मेघा कलेजमात्र सहभागी छ ।