कलवार समुदायका आराध्य श्री बलभद्र भगवान् एवं सहस्त्रावाहु अर्जुन भगवानको आज विभिन्न कार्यक्रम गर्दै पूजनोत्सव गरिंदैछ ।
कलवार सेवा समिति प्रथम पूजा समारोह-२०८० को आयोजना गर्दै कलवार सेवा समितिले बिहान कलश शोभा यात्रा तथा झाँकी प्रदर्शन र बिहान ९ बजेदेखि पूजा कार्यक्रम गर्ने भएको छ । पूजा वंशीकला सदन धरान १२ स्थित गीता भवनमा हुँदैछ ।
कलवार सेवा समितिको प्रथम पूजा समारोह
श्री बलभद्र भगवान् एवं सहस्त्रावाहु अर्जुन भगवानको पूजनोत्सवबारे जानकारी दिंदै कलवार सेवा समितिका सचिव एवम् अधिवक्ता रवीन्द्र भगतले पितापूर्खाले कूलदेवता र इष्ट देवताका रुपमा मान्दै आएको बताए ।
लाभ हेतु, व्यापार हेतु, श्रीवृद्धि, सुख, शान्ति र मनोरथपूर्तिका लागि बलभद्र भगवान् एवं सहस्त्रावाहु अर्जुन भगवानको पूजा अर्चना पौराणिक कालदेखि पितापूर्खाले गर्दै आएको कलवार सेवा समितिका उपाध्यक्ष एवम् पूजा संयोजक उदयचन्द्रप्रसाद भगतले बताए ।
कार्यक्रमअनुसार बिहान ८:१५ देखि कलश शोभा यात्रा निकालिदैछ । बिहानको अविरल वर्षाका कारण कलश शोभायात्रा केही ढिला गरी सुरु भएको समितिका सदस्य राजा चौधरीले जानकारी दिए । कलश शोभायात्राको रुट गीता मन्दिर -छाता चोक टेलिकम अफिस- पुरानो बजार हुँदै भानुचोकदेखि गीता मन्दिर तय गरिएको छ ।
प्रसाद वितरण बिहान ११ बजे, अतिथि सम्मान, सांस्कृतिक तथा औपचारिक कार्यक्रम दिउँसो २:३० बजे, सन्ध्या आरती बेलुका ६ बजे र प्रसाद प्रितीभोज साँझ ६:३० बजेदेखि गर्ने कार्यक्रम तय भएको छ ।
कलवार समुदायमा व्याहुत, जैसवाल र चौधरी जाति पर्छन् । यसभित्र पनि भगत, गुप्ता, साहलगायतका उपथर लेख्ने गरिएको छ ।