उर्लाबारी नगरपालिकाको वडा नं. २ र ३ जोडने कृष्णचोक–सुनझोडा सडकको आइतबार शिलान्यास गरिएको छ । 

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिनादेवी खतिवडा पौडेलले उर्लाबारी–३ को गोलचोकमा सडक शिलान्यास गरेका छन् । ५ किमी अत्याधुनिक निर्माण हुने सडक गुणस्तरीय बन्ने र समयमै निर्माण पूरा हुने नगर प्रमुख खरेलले विश्वास व्यक्त गरेका छन् ।

विश्व बैंकको ३६ करोड १२ लाख ४३ हजार ६ सय १६ रुपैयाँ अनुदान सहयोगमा सडक निर्माण हुन लागेको हो । कोभिड सङ्क्रमणका कारण सडक ढिलो निर्माण सुरु गरिएको वडा नं. –२ का वडाध्यक्ष राजन कँडेलले बताए । 

६ वर्षअघिदेखि निर्माण प्रयास भएको सडक शुभारम्भ भएकोमा वडाध्यक्ष कँडेलले खुसी प्रकट गरेका छन् । सडक निर्माणले स्थानीय लाभान्वित हुने वडा नं.–३ का वडाध्यक्ष भिष्म बुढाथोकीले बताएका छन् ।

उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाका अनुसार सडक भारतको हैदरावादस्थित सिपेल इन्फ्रा निर्माण कम्पनीले २०७९ फागुन २१ गते ठेक्का सम्झौता गरेको थियो । यो सडक २ वर्षमा निर्माण पूरा हुने भनिएको थियो ।

Krishna Chok Sun Jhoda Sadak Urlabari blastkhabar Madan Prasai news and photo (1)

शिलान्यासका क्रममा सव–निर्माण कम्पनी उर्लाबारी–३ स्थित तुम्रुक निर्माण कम्पनीका सञ्चालक अर्जुन तुम्रुकले ठेक्का अवधिभन्दा ६ महिना अघि नै निर्माण पूरा गर्ने  प्रतिबद्धता जनाएका छन् । 

शिलान्यस कार्यक्रममा जसपाका नगर अध्यक्ष मात्रिका धिमाल, स्थानीय भोगेन्द्र डाँगीलगायतले सडक निर्माण कार्य समयावधिमा पूरा हुने विश्वास व्यक्त गरेका छन् । 

सडक निवर्तमान नगर प्रमुख खड्ग फागोको कार्यकालमा प्रक्रिया सुरु भई निर्माण गरिने तय भए पनि कोभिड सङ्क्रमणका कारण विश्व बैंकले निर्माण कार्य तथा योजना पछि सारेको थियो ।