धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, सुनसरीले सङ्घीय सदस्यका लागि ३ जना र प्रान्तीय सदस्यका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
मञ्चका सुनसरी जिल्ला अध्यक्ष राजकुमार लिम्बू (प्रिन्स)को सभापतित्वमा भएको बैठकले सङ्घीय सदस्यमा राजेन्द्र सुक्वाबा लिम्बू, सरस्वती सुब्बा र भोलामान बर्देवालाई सिफारिस गरेको छ । त्यस्तै प्रान्तीय सदस्यमा दिनेश लिबाङ, दिलिता सम्बाहाङ्फे, धनमाया लिम्बू र रीना राईलाई सिफारिस गरेको हो ।
मञ्चका केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यमा भएको बैठकमा सुनसरीका पदाधिकारीबाट छनौट गरी सङ्घ र प्रान्तका लागि सिफारिस गरिएको हो । बैठकमा बोल्दै प्रमुख अतिथि लावतीले धरान–इटहरी सडक–खण्डमा ठेकेदारको लापरबाहीले यात्रुले दुःख पाइरहेको भन्दै आक्रोस पोखे । उनले सडक अलपत्र पार्दासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै ठेकेदारलाई कारबाही गर्न माग गरे । उनले देश विकासका लागि पहिचान र सह–अस्तित्व अपरिहार्य रहेको बताए ।
त्यस्तै जिल्ला अध्यक्ष लिम्बूले स्थानीयस्तरमा भइरहेको कालोबजारी, भ्रष्टाचारलाई स्थानीय सरकारले बेवास्ता गरेको भन्दै देशका यस्तै समस्याका कारण युवाहरू विदेश पलायन हुन बाध्य भएको बताए । कार्यक्रममा बिबी लिङ्देन, इटहरी नगरअध्यक्ष भीम खजुम, धरान नगरअध्यक्ष मोहनप्रसाद तिगेलालगायतले शुभकामना व्यक्त गरेका थिए ।