नेपालका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात र आक्रमणको घटनाले दण्डहीनता बढेको सङ्केत गरेको छ । बागमती प्रदेशको हेटौंडास्थित अस्पतालमा कार्यरत दुई चिकित्सकमाथि हातपात गरेको घटना सेलाउन पाएको छैन, फेरि पोखराको मणिपालमा पनि यस्तै प्रकृतिको घटना भएको छ । त्यहीबीचमा नेपालगञ्जमा पनि आक्रमण भएको घटना सार्वजनिक भएको थियो । एकपछि अर्को घटनाक्रम भइरहँदा पनि सरकारले कारबाही गर्न नसकेको भनी आलोचना बढ्दै गएको छ । चिकित्सकहरुको पेशा व्यवसायमाथि नै धावा बोल्ने स्थिति पैदा हुँदा पनि सरकार निरीह बनेको छ । के सरकार संवेदनहीन भएको हो ? हृदयहीन भएको हो ? दण्डहीनताले चुली नापिसक्दा पनि सरकार मुकदर्शक झैं भएको छ । यसले गर्दा चिकित्सकहरुको मनोबल दिनानु दिन गिर्दै गएको छ । एकपछि अर्को आक्रमण तथा हातपातको घटना हुने स्थिति पैदा भइरहँदा पनि मुकदर्शक बन्नु न्यायोचित हो त ? सरकारले आफ्नो हिसाबले काम गरिरहेको होला । तर, त्यो काम नागरिकको तहमा अर्थात् चिकित्सिकहरुको मनोबल उच्च हुने तहमा भएन भने त्यसको अर्थ हुन्न । अहिले भइरहेको गतिविधिले चिकित्सिकलाई सुरक्षित हुने अवस्था सिर्जना गर्दैन । उनीहरु पलायन हुने अवस्था सिर्जना गर्छ ।

यहाँ समस्याचाहिँ मनोवैज्ञानिक असरको हो । अर्थात् भोलि कुनै पनि जटिल तथा गम्भीर प्रकृतिको बिरामी आएमा उपचार नहुने अवस्था सिर्जना हुन सक्छ । चिकित्सकहरुले त्यस्ता बिरामीहरुलाई हेर्न छाडी रिफर गर्ने वातावरण सिर्जना हुन्छ । एक ठाउँबाट अर्को ठाउँ रिफर गर्दागर्दै बिरामीको मृत्यु हुन सक्छ । यहाँ काल आयो भन्दा पनि काल पल्क्यो भन्ने हिसाबमा सरकार गम्भीर हुन जरूरी छ । चिकित्सकहरुमा जुन खालको मनोवैज्ञानिक असर पर्छ, त्यसले कालान्तरमा हामीले सहज उपचार पाउन नसक्ने अवस्था सिर्जना हुन्छ । यसका लागि अहिलेबाटै चिकित्सकहरुको मनोबललाई उच्च बनाउन कार्यक्षेत्रमा कुट्ने वा त्यस्ता अनैतिक हर्कत गर्नेहरुलाई हदैसम्मको कारबाही गर्ने वातावरण सिर्जना गरिनुपर्छ । यसो त कानूनीरुपमा यस्ता विषय उल्लेख नभएका होइनन् तर, व्यवहारिक रुपमा कार्यान्वयनको अवस्था चाहिँ न्यून छ । पछिल्लो एक महिनाको अवधिमा चिकित्सकहरुमाथि एकपछि अर्को हातपातको क्रम जुन गतिमा बढेको छ, त्यसलाई न्यूनीकरण गर्ने उपाय भनेको सरकारले दिने आश्वासन हो । त्यो आश्वासन भनेको अनैतिक कार्य गर्नेहरुमाथि सरकार कति निर्मम हुन्छ भन्ने हो वा कारबाही कसरी अगाडि बढाउँछ भन्ने हो । कतिपय अवस्थामा चिकित्सकका पनि त्रुटिहरु होलान् । ती त्रुटिलाई हटाउने जिम्मेवारी स्वयम् चिकित्सकको हो । चिकित्सकलाई जिउँदो भगवान् मानिन्छ । त्यसकारण चिकित्सकले गर्ने व्यवहारमा पनि सुधार हुन आवश्यक छ । त्यो सुधार नैतिक कर्तव्य सम्झिएर गर्नु जरूरी छ । कस्तो अवस्थाको बिरामी तथा बिरामीका आफन्तलाई कसरी व्यवहार गर्ने भन्ने विषयमा पेशागत मर्यादालाई ख्याल गरी गर्नुपर्छ । सबै चिकित्सक गलत छैनन्, तर यसको अर्थ सबै राम्रा छन् भन्ने पनि होइन । व्यवहारगत सुधार आवश्यक छ ।

चिकित्सकको मनोबललाई गिर्न नदिनका लागि पनि सरकारले गम्भीर भएर हातपात गर्नेमाथि कारबाही चलाउनु एकमात्रै विकल्प हो । अपराधलाई अपराधकै कोटीमा राखेर कानूनी कारबाही गर्ने जिम्मेवारी पाएको प्रहरी प्रशासनले कारबाहीको दायरामा ल्याउनुपर्छ । कानून सबैका लागि बराबर हो भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई अङ्गीकार गर्नुपर्छ । नेपालका दक्ष जनशक्तिमाथि पटक–पटक अनाहकमा आक्रमण गर्ने अवस्था सिर्जना हुनु राम्रो विषय होइन । यसका लागि राज्यका संयन्त्र चनाखो हुनुपर्छ । सरकारले चिकित्सकलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्छ । त्यो राज्यको दायित्व हो । चिकित्सकले पनि बिरामीको सेवाका निम्ति कुनै कसर बाँकी राख्नु हुँदैन । चिकित्सक पिटिएकै नाममा देशभर हुने आन्दोलनले झन् बिरामीले थप सास्ती खेप्नु परिरहेको छ । यस कुरालाई पनि चिकित्सकले मध्यनजर गर्नुपर्छ । आफ्नो हक र अधिकारबारे बोलिरहँदा अरुको अधिकारलाई पनि ख्याल गरिनुपर्छ । नेपालको संविधानमै स्वास्थ्यको हक हुनेछ भन्ने व्यवस्थालाई आन्दोलनमा उत्रिएका चिकित्सकहरुले भुल्नु हुँदैन । एउटा माग र मुद्दालाई बोकिरहँदा त्यसबाट अरु लाखौँ पीडित हुँदैछन् भन्ने विषयलाई गम्भीररुपमा मनन् गर्न आवश्यक छ ।